Shittalpati
संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट

गुल्मी, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक गरेको स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/८१ मा ८७ प्रतिशत अंक ल्याएर गाउँपालिका अन्तर्गत देशभरमै दोस्रो र लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको हो ।

देशका चार सय ६० गाउँपालिकामध्ये दोस्रो बनेको रुरुक्षेत्रले गरेका हरेक क्रियाकलाप व्यवस्थित अभिलेखीकरण गरेका कारण देशभरमै दोस्रो र प्रदेशमा पहिलो बन्न सफल भएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । गाउँपालिकालाई आगामी वर्ष देशमै पहिलो बनाउने लक्ष्यका साथ आफूहरू अगाडि बढिरहेको उनले बताए । मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङ बेनीघाट रोराङ गाउँपालिका देशभरमै पहिलो बनेको छ । जसले ८७.२७ अंक प्राप्त गरेको छ । त्यस्तै गुल्मीको रुरुक्षेत्र र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले बराबर अंक प्राप्त गरेर देशभरमै दोस्रो बनेका छन् । दोस्रो स्थान हासिल गरेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले ८७ अंक प्राप्त गरेको छ ।

नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका प्रथम, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका द्वितीय र तृतीय भई पुरस्कृत भएका छन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ अनुसार स्वमूल्यांकनको काम प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ । पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार मानिएको हो । यस्तै, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्यांकन गरेका हुन् । तर, यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।  सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि स्थानीय तहको संस्थागत स्वमूल्यांकन सुरु गरेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update