Shittalpati
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर

बुटवल, बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । उसले बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको हो ।

महानगरले बटौलीलाई पूरानै अवस्था झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका छलफललाई अगाडि बढाएको छ । बटौली बजारको सम्पदाको संरक्षित गरी शहरलाई गुल्जार बनाउने गरी आफुहरु छलफलमा जुटेको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । ‘बटौली बजारलाई कसरी गुल्जार बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै अघिदेखि छलफल चलाउँदै आएका छौं, उनले भने–बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय रुपमा स्थापित गर्न सकिन्छ ।’ पुरानो बुटवलका नामले परिचित बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरु छन् । ती घरहरुमध्ये जीर्ण भएका र पुननिर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पूरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको प्रमुख पाण्डेयले बताए ।

उनका अनुसार बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्ने र बटौलीमा परम्परागत शैलीको व्यापारलाई पुनस्थापित गर्ने योजनामाथि छलफल भइरहेको छ । सुरुमा वडा नम्बर १ का केही घरहरुको पुनः निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुर्‍याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाएको प्रमुख पाण्डेयले बताए । उनका अनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्राबजार र लायन्सगेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्थापित गर्ने गरी योजना बनाइँदैछ । जसका लागि स्थानीयसँग छलफल गर्ने, इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको प्रमुख पाण्डेयले बताए । चालु आर्थिक वर्षमा पूरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको उनले जानकारी गराए ।  जसअनुसार शुरुमा ४२ वटा घरहरुलाई नमूनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीयबासिन्दाबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बुटवल उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । तीन पक्षबीच सहमति भइ काम शुरु भएमा २ वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्नसक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबीच छलफल भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update