Shittalpati
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड

पाल्पा, जिल्लाको रामपुरमा यातायात व्यवस्था सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैतिक दल, इलाका प्रशासन, इलाका प्रहरी र सरोकारवालाहरुबिच नगर भित्र यातायात सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको हो ।

छलफलमा यातायात व्यवस्थालाई थप व्यवस्थित र गुणस्तरीय बनाउने दिशामा ध्यान दिन जोड दिइएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सहज, सरल पहुँचसहितको व्यवस्थित यातायात सञ्चालनका लागि सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले गुणस्तरीय यातायात सेवाका लागि यातायात व्यवसायी, सवारी धनी, चालक, यातायात मजदुरले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । नगर प्रमुख थापाले यात्रुको सुविधाका लागि यातायात व्यवसायीहरुलाई निर्धारित भाडादरमा अधिकतम सेवा दिन निर्देशन समेत दिए । रामपुर नगरपालिकाको सभाहलमा भएको छलफलले यातायात सेवालाई थप व्यवस्थित बनाउने लैजाने निर्णय समेत गरेको छ । नगरपालिकाको निगरानिमा सञ्चालन हुने भ्यान र अटोको भाडादर संशोधन सहित समायोजन, यस अघि भएको सवारी पार्किङ्ग सम्बन्धी निर्णय कार्यान्वयन गर्ने, अटोको सेवा क्षेत्र विस्तार गर्ने, पाँच वर्ष भन्दा पुरानो अटो सञ्चालन गर्न नपाउने, सबै सवारी साधनमा भाडा दरको लिष्ट टाँस्नु पर्ने, रामपुर नगरपालिकाको बसपार्क व्यवस्थापन कार्यविधि र बजार क्षेत्र सवारी साधन पार्किङ्ग व्यवस्थापन कार्यविधिमा उल्लेख भएका सम्पूर्ण व्यवस्था पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने निर्णय समेत भएको नगरपालिकाका प्रेस संयोजक दानु हिस्कीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update