Shittalpati
प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक : रायमाझी

पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पूर्व अध्यक्ष तथा पाल्पाका संरक्षक बरिष्ठ लोक गायक दुर्गा रायमाझीले अब प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक रहेको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाको २२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले लोक गीत संगीतमा देखिएका समस्या र विकृतिहरुलाई पहिचान गरी समाधान गर्न प्रतिष्ठानमा बौद्धिक बहस चलाउन आवश्यक रहेको बताएका हुन् ।

प्रमख अतिथि समेत रहेका गायक रायमाझीले पछिल्लो समय लोक सांगीतिक क्षेत्रमा विकृतिहरु भित्रिएको र तिनिहरुलाई नीतिगत रुपमा समाधान गर्न प्रतिष्ठानका शाखाहरुबाटै बौद्धिक बहस चलाउन जरुरी रहेको उल्लेख गरे । उनले भने ‘प्रतिष्ठानमा रहनुभएका कानुनी सल्लाहकार, प्रेस सल्लाहकार र अन्य सल्लाहकारहरुसँग बसेर बेला बेलामा बौद्धिक छलफल र बहस चलाऔं, जसले गर्दा प्रतिष्ठानलाई थप विश्वासिलो र भरपर्दो बनाउन सकिन्छ ।’ कलाकार र पत्रकारहरुको उद्देश्य उस्तै उस्तै भएकाले पत्रकारहरुसँग बसेर लोक संगीतका समस्याका बारेमा छलफल गर्न गायक रायमाझीले प्रतिष्ठान पाल्पालाई आग्रह समेत गरे । उनले प्रतिष्ठान केन्द्रीय समितिको आगामी असोज ११/१२ गते पोखरामा हुने दोस्रो साधारण सभालाई विधान सभाको रुपमा लिइने भएकाले प्रतिष्ठानमा भएका समस्याहरुका बारेमा छलफल गरी एजेण्डाका रुपमा विधान सभामा लैजान जिल्ला नेतृत्वलाई सुझाव दिए । रायमाझीले भने ‘विधान सभामा प्रतिष्ठानका हरेक काम कर्तव्य, जिल्ला, प्रदेश र केन्द्रसँगको समन्वय, लोक संगीतामा देखिएका समस्याहरुका बारेमा व्यापक छलफल भई विधान संशोधन गरिने भएकाले पाल्पाबाट समेत छलफल गरेर केही विषयहरु सभामा लैजानुहोस्, यसले प्रतिष्ठानमा भएका समस्या समाधन गर्न र प्रदेश, केन्द्रसँगको समन्वयलाई थप प्रभावकारी बनाउन विधान संशोधनमा सहयोग पुग्छ ।’ 

कार्यक्रममा विशिष्ट अतिथि प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष अमृत अधिकारीले पाल्पाली कलाकारहरुले सिंगो देशको नेतृत्व गर्दै उच्च छवि बनाएको स्मरण गर्दै त्यसलाई कायम राख्न प्रतिष्ठान पाल्पा शाखालाई आग्रह गरे । उनले पछिल्लो समय लोक संगीतमा केही विकृति विसंगतीहरु आएकाले त्यसलाई नियन्त्रण गर्ने कुरामा प्रतिष्ठान निरन्तर लागेको बताए । कोषाध्यक्ष अधिकारीले प्रतिष्ठान नियमन गर्ने निकाय नभएकाले पनि गर्दा गर्दे विकृति विसंगीत रोक्न नसकिएको उल्लेख गरे । 

फरक प्रसंगमा उनले समाज परिवार्तनका संवाहक कलाकार भएकाले समाज रुपान्तरणका लागि सचेतना जगाउने कुरामा प्रतिष्ठानलाई साथमा लिएर अगाडि बढ्न स्थानीय सरकारलाई समेत आग्रह गरे । प्रतिष्ठानका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा वरिष्ठ गायक इन्द्र जिसीले लोक संस्कृतिको संरक्षणमा लाग्न प्रतिष्ठानलाई आग्रह गरे । उनले हराउदै जान थालेको मौलिक लोकसंस्कृतिलाई जर्गेना गर्नु प्रतिष्ठानको मुख्य उद्देश्य रहेको भन्दै त्यसको संरक्षणमा लाग्न प्रतिष्ठानलाई आग्रह गरेका हुन् । प्रतिष्ठान पाल्पाका संस्थापक अध्यक्ष तथा राष्ट्रिय लोक भजन, चुट्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायण खनाल लेकालीले पाल्पाली पूर्वज कलाकारहरुले लोकसंस्कृति संरक्षणमा नेतृत्वदायी भूमिका खेलेको बताउँदै नयाँ कलाकारहरुले त्यसको छवि कायम राख्नुपर्नेमा जोड दिए । उनले टुँडिखेलमा ४/५ जना जम्मा भएर गठन भएको पाल्पा प्रतिष्ठान अहिले २२ वर्षमा प्रवेश गर्न सफल भएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा प्रतिष्ठान पाल्पाका पूर्व सचिव तथा राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका कार्यवाहक सभापति सुमन गैरे, प्रतिष्ठानका सल्लाहकार तथा तानसेन –६ का वडा अध्यक्ष सागरमान महर्जन, अर्का सल्लाहकार तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठ, प्रतिष्ठानका कानुनी सल्लाहकार शिवप्रसाद देवकोटा, प्रेस सल्लाहकार रामचन्द्र रायमाझी लगायतले लोक संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले प्रतिष्ठानले स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । सोही अवसरमा प्रतिष्ठानले बाध्यवाजनमा सहयोग गर्ने खिमबहादुर थापा, पाल्पाबाट विभिन्न प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने कलाकारहरुलाई सम्मान र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो । प्रतिष्ठानका जिल्ला अध्यक्ष कमल भट्टराईको अध्यक्षता, उपाध्यक्ष रुपेश कार्कीको स्वागत, सहसचिव गणेश न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update