Shittalpati
भगवती जात्रामा मंगलबार पाल्पामा सार्वजनिक विदा

पाल्पा, नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा तानसेनमा निकालिने भगवतीको जात्राका दिन लुुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार ऐतिहासिक भगवती जात्राका दिन पाल्पामा सार्वजनिक विदा दिने व्‍यवस्था भएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जनाएको छ ।

आइतबार मन्त्रालयका कानुुन अधिकृत अस्मिता अर्यालद्वारा जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० चैत २० गते लुुम्बिनी प्रदेशको प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको अवसरमा पाल्पामा मिति २०८१/५/११ गते मंगलबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्वको भू–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश साम्राज्यवादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय ५ वर्ष अघिदेखि विजय उत्सवका रुपमा भगवती जात्रा निकालिदै आइएको छ । जिल्लामा जात्राका दिन सरकारी तवरबाट सार्वजनिक विदा दिनुपर्ने आवाज उठिरहे पनि विदा दिइने गरेको थिएन । प्रदेश सरकारले भने राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई विगत केही वर्षदेखि सार्वजनिक विदा दिर्दै आएको छ ।

यस वर्षको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । रणउजीरेश्वरी भगवतीको पूजा आराधना तथा रथयात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने निश्चित भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । नेपाल–अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा निकालिँदै आएको छ । तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटिस साम्राज्यको आक्रमणबाट नुवाकोट जितगढीमा जोगाएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीमा रथयात्रा निकालिँदै आएको छ । तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update