गुल्मी, गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि बन्द रहेको उडान गत शुक्रबारदेखि पुनः सुरु भएको हो ।
वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार १४ गतेदेखि उडान अवरुद्ध बनेको थियो । अहिले मौसममा तुलनात्मक सुधार आएसँगै उडान पुनः सुरु गएिको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने उनको भनाई छ । यस अघि साताको चार पटक उडान हुँदै आए पनि अहिलेलाई हप्ताको एक दिन रेसुङ्गा काठमाडौं उडान हुने छ ।
दुई महिनादेखि उडान अवरुद्ध हुँदा यात्रुुहरुले सास्ती खेप्नु परेको थियो । गुल्मीको रेसुङ्गा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः४५ बजे नियमित उडान तालिका छ । सोही तालिकाअनुसार निगमले हाल काठमाडौँबाट रेसुङ्गा लागि सात हजार दुई सय ८० र रेसुङ्गाबाट काठमाडौँका लागि सात हजार ८० भाडादर निर्धारण गरेको छ । जिल्लामा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो ।
रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ । पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा समेत वृद्धि हुँदै गएकोे छ । उक्त विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दूरीमा पर्दछ ।