Shittalpati
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा 

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा सोमबार( भोली) हुन लागेको सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कृष्ण जन्माष्टमीको दिन सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।

महोत्सवको सम्पूर्ण तयारी पुुरा भएको आयोजक संस्था सहयात्रा नेपालका अध्यक्ष, वरिष्ठ लोक गायक दुर्गा रायमाझीले बताए । रम्भादेवी मन्दिरको पर्यटन प्रवद्र्धन गर्दै स्थानीय कला,संस्कृति,प्रचलित भेषभूषाको प्रचार–प्रसारमा टेवा पुर्‍याउने उद्देश्यले एक दिने सांस्कृतिक महोत्सव गर्न लागिएको उनले बताए । ‘महोत्सवमा रामपुरको बालन, माथगढीको झाम्रे, हुमिनको लाखे, सिलुवाको कौरा, रानीवासको सोरठी र तिवारी आमाको मौलिक तीजसहित स्थानीय कला संस्कृतिहरू प्रस्तुत गरिने छ । महोत्सवको सह आयोजकमा रम्भादेवी पर्यटन विकास प्रतिष्ठान, मुख्य प्रवद्र्धक रम्भा गाउँपालिका, पर्यटन प्रवद्र्धन नेपाल दर्शन, प्रवद्र्धक मातृभूमी सेवा प्रतिष्ठान र कुमकुम ज्वेलर्स न्युरोड काठमाडौं रहेको बताइएको छ । महोत्सवमा वरिष्ठ कलाकारहरू नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसी, नारायण लेकाली, अमृत अधिकारी, नविन पौडेल, हुम गैरे, माधव भण्डारी, श्रीदेवी देवकोटा लगायत स्थानीय कलाकारलाई प्राथमिकतामा राखिएको छ । महोत्सव प्रवेशका लागि निःशुल्क रहेको छ ।

विगतमा धार्मिक मेला, महोत्सव हुँदै आए पनि अहिले भने विस्तारै कम हुँदै गएका छन् । सुन सान बन्दै गएको पर्यकटीयस्थलाई थप गुुञ्जार बनाउन महोत्सव हुन लागेको हो । रम्भादेवी क्षेत्र सरकारले घोषणा गरेको १०० गन्तव्यस्थल मध्यको एक हो । यस क्षेत्रको आस्थाको केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दिर रहेको ठाउँलाई रम्भा पानी पनि भन्ने गरिन्छ । त्रेता युगमा भगवान् राम र सिता मुक्तिनाथको यात्रा गर्ने क्रममा रामपुर हुँदै राम्दी जाँदा त्यही जङगलमा आईपुग्दा सितालाई पानी प्यास लागेको र पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले रामवाण पानी, रामवाण पानी भन्दा भन्दै रम्भापानी रहन गएको हो भन्ने किंवदन्ती छ । रम्भादेवीको भाकल गरेमा मागेको वा चिताएको पुग्छ भन्ने विश्वासले भाकल गर्ने र भाकल पुरा भएपछि भाकल गरे अनुसार भेटी, फूलपाती, अक्षता, ध्वजा, लिंगा, रोट वा पञ्चवली दिने चलन रही आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update