Shittalpati
कृष्ण जन्माष्टमीको महिमा

आज कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । जन्माष्टमी हिन्दुहरुको प्रमुख पर्व हो । आर्यमिश्रीत समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ । त्यो साँच्चै नै दर्शनीय हुन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । जसरी अन्य चाडको महत्व छ त्यसरी नै जन्माष्टमीको पनि विशेष महिमा रहेको छ ।

मध्यकालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले पाटनमा २१ गजुर भएको कृष्णमन्दिर बनाएपछि नेपाल अधिराज्यमा कृष्ण प्रख्यात भएको मानिन्छ । मल्ल राजाहरुमा कला बनाउने प्रतियोगिता हुँदा राजा सिद्धिनरसिंह मल्लले ढुङ्गाको सुन्दर र ठूलो पाटनको कृष्ण मन्दिर बनाएका थिए । जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान कृष्णले जन्म लिएको मानिन्छ । नेपालको इतिहास भगवान कृष्णको चरित्रसँग जोडिएको छ । लिच्छविकालसम्म कृष्ण भक्तिको परम्पराको विकास भइसकेको मानिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । यस चाडको मुख्य महिमा राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रा कामको हतोत्साहित गर्ने हो । एकताको लागि पनि कृष्णाष्टमी मनाइन्छ । यो पवित्र चाड मानिसको बीच भाइचारा वृद्धि हुन्छ । यसकारण जन्माष्टमीलाई एकताको प्रतिक मानिएको छ । श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । उक्त रातमा श्रीकृष्णको ध्यान, नाम वा मन्त्र जप्दा संसारको माया मोह र आशक्ति हटाउन सक्छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकाले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्नका लागि पनि कृष्ण जन्माष्टमीको महिमा रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update