Shittalpati
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

पाल्पा, आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी  यो पर्व मनाउन लागेका हुन् ।

भगवान श्रीकृष्णको जन्म भएको अवसरमा देशभर यो पर्व श्रीकृष्णको पूजाआराधना गरी मनाइने गरिन्छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ पनि भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरेको छ । आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update