Shittalpati
मन्त्री सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई भने ‘मन्द मुस्कानसहित सेवा दिनुहोस्’

पाल्पा, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई मन्द मुस्कानसहित जनतालाई सेवा दिन आग्रह गरेका छन् । आइतबार स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन शत्रलाई तानसेनमा सम्बोधन गर्दै उनले मन्द मुस्कानसहितको सेवा दिन स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई आग्रह गरेका हुन् ।

पछिल्लो समय सरकारी अस्पतालको सेवाप्रति नागरिकको विश्वास गुम्दै गइरहेको अवस्थामा बिरामीको मन जित्ने गरी सेवा प्रदान गर्नुपर्ने मन्त्री सारुले बताए । उनले भने ‘सेवाग्राहीले सबै स्वास्थ्य सुविधा प्राप्त गरेर पनि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफ नर्स, कर्मचारी वा कुनै एक जनाले गर्ने गलत व्यवहार वा बोलीका कारण उनीहरुको आत्मसम्मानमा ठेस पुग्न सक्छ । त्यसलाई ध्यान दिएर मन्द मुस्कानसहितको सेवा दिनुहोस् ।’ मन्त्री सारुले नेता र कर्मचारीहरुका कारण आमनागरिकमा निराशा छाएकाले त्यसको अन्त्यका लागि जनमूखी भएर काम गर्नुपर्नेमा जोड दिए । अस्पताल र शिक्षा क्षेत्र संवेदनशील भएकाले अस्पतालको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर काम गर्न आग्रह गर्दै उनले जनतालाई दिने सेवामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए । उनले कर्मचारी अभावका कारण स्वास्थ्य क्षेत्रमा केही समस्या भए पनि त्यसको समाधानका लागि प्रदेश सरकारले कर्मचारी व्यवस्थापन गर्न लागेको बताए । मन्त्री सारुले प्रदेशमा ६ सय ४९ कर्मचारी स्वास्थ्य क्षेत्रमा अभाव रहेको भन्दै व्यवस्थापनको काममा मन्त्रालय लागिरहेको उल्लेख गरे । उनले पाल्पा अस्पतालको गुणस्तर वृद्धि र भवन निर्माणका लागि छिट्टै काम हुने समेत बताए । मन्त्री सारुले स्वास्थ्य क्षेत्र सुधारका लागि एक आपसमा सहकार्य गर्न संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धता जनाएको बताए । उनले संघीय स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशका स्वास्थ्यमन्त्रीहरुलाई काठमाडौंमा बोलाएर स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने निर्णय गरेको उल्लेख गरे । मन्त्री सारुले भने‘ बैठकले हैजा, डेंगी तथा झाडापखाला, मंकिपक्स लगायतका संक्रामक रोगको महामारी तथा अरु स्वास्थ्य जोखिमसँग जुध्न संघदेखि वडासम्मै द्रुत प्रतिकार्य टोली सक्रिय राख्ने निर्णय गरेको छ ।’ प्रदेश सरकारले सोही अनुसार १२ वटै जिल्लाका स्थानीय तहमा द्रुत प्रतिकार्य टोली व्यवस्थापन गर्न लागेको उनले बताए । विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले स्वास्थ्य जस्तो विषयमा संवेदनशिल हुनुपर्ने बताए । उनले सबैको ध्यान पूर्वधार निर्माणको क्षेत्रमा मात्र रहेकाले स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ओझेलमा पारिएको भन्दै त्यसलाई मूर्तरुप दिन स्वास्थ्य क्षेत्रका कर्मचारीहरु नै बढी जिम्मेवार हुनुपर्ने उल्लेख गरे । सांसद रानाले भने ‘पछिल्लो समय उत्पादन बढाउने नाममा हामीले विषाक्त खानेकुराहरु उपभोग गरिरहेका छौं, त्यसतर्फ कसैको पनि ध्यान पुग्न सकेको छैन्, हाम्रो ध्यान पूर्वाधारमा मात्र केन्द्रीत भयो, अब मानव संवेदनशिल जस्तो विषयमा ध्यान जानुपर्छ ।’ उनले अझै पनि आर्थिक अभावका कारण उपचार नपाएर आमनागरिकले मृत्युवरण गर्नु परिरहेको घटनालाई उदृत गर्दै त्यस्तो अवस्थाको अत्यन्त गर्न सके मात्र लोकतन्त्रको सार्थक अनुभूति जनतालाई हुने बताए । पूर्व मन्त्री समेत रहेका रानाले ‘सुनिश्चित बास नियमित गाँस, शिक्षा र स्वास्थ्यमा सरकारको साथ’ भन्ने नारा आफुले तय गरेको भन्दै सोही अनुसार अब प्रदेश सरकार समेत अगाडि बढ्ने बताए । उनले कर्मचारी र राजनीतिक दलहरुप्रति जनताको वितृष्ण पैदा भएकाले अब जनमैत्री भएर काम गर्नुको विकल्प नरहेको उल्लेख गरे । सांसद रानाले सेवा गर्दा कुनै पनि विचार, आस्था र नेताको निर्देशन नकुरी जनतालाई अनूभूत हुने गरी काम गर्न कर्मचारीहरुलाई आग्रह समेत गरे । उनले भने ‘आस्थाको कुण्डली हेरेर हैन कर्मको कुण्डली हेरेर काम गर्नुहोस् ।’

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायतले पाल्पामा आत्महत्याका घटना बढ्दै गएकाले त्यसलाई रोक्न कारणको पहिचान गरी परामर्श दिनुपर्नेमा जोड दिए । उनीहरुले पाल्पा अस्पतालमा हरेक वर्ष आउने गरेको बजेट काम नभई फ्रिज हुँदै गएकाले अस्पतालको भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाउने कुरामा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले कर्मचारी समायोजन नहुँदा स्वास्थ्य क्षेत्रमा समस्या भएकाले त्यसतर्फ ध्यान दिन प्रदेश सरकारका मन्त्री र सांसद समक्ष आग्रह गरे । उनले जिल्लामा सिमित स्रोत र साधनका बावजूत पनि स्वास्थ्यमा उल्लेखीय काम गर्न सफल भएको बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका बरिष्ठ तथ्यांक अधिकृत टुक प्रसाद पोखरेलले कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । उद्घाटन शत्र कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीको अध्यक्षता, क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेको स्वागत, टिकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सोमबारसम्म चल्ने गोष्ठीमा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा, जिल्लाका अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले आ–आफ्ना कार्यालयहरुले एक वर्षमा गरेका कार्यप्रगतिका बारेमा जानकारी गराउने छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update