Shittalpati
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण

पाल्पा, तानसेन गुठी काठमाडौं, तानसेन शाखाले सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार र तानसेनमा सञ्चालन हुँदै आएका जात्रा पर्वका लागि आर्थिक सहयोग गरेको हो ।

उसले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ३ लाख ४४ हजार ७ सय ३ बराबरको छात्रवृत्ति, पुरस्कार र आर्थिक सहयोग गरेको छ । गुुठीले नारायण–सरोज छात्रवृत्ति,श्रीनगर छात्रवृत्ति, श्याम–रत्न स्मृति छात्रवृत्ति, पद्म–चन्द्र श्रेष्ठ स्मृति छात्रवृत्ति, दिव्यमान वैश्यत स्मृति छात्रवृत्ति, जीत गोविन्द चन्द्र कुमारी स्मृति छात्रवृत्ति, दशरथ–मिथिला छात्रवृत्ति,शिवनाथ–यमुना देवी गोंगल छात्रवृत्ति, सिद्धि सकल तुलसी कृष्ण इन्द्र दुर्गा स्मृति पुरस्कार, मूर्तेन्द–मोहनमाया स्मृति छात्रवृत्ति, अनन्त मथुरा प्रसाद राजभण्डारी छात्रवृत्ति, तेज कुमारी गणेश बहादुर गुभाजु स्मृति छात्रवृत्ति,मुक्ति प्रसाद लक्ष्मीकुमारी छात्रवृत्ति, महालक्ष्मी श्रेष्ठ स्मृति छात्रवृत्ति, हरि प्रसाद कृष्णमाया प्रधान स्मृति अक्षयकोष, लालेजोकर–सुखलक्ष्मी चित्रकार स्मृति अक्षयकोष, देवलक्ष्मी–शान्तिलक्ष्मी स्मृति छात्रवृत्ति,देवी सरस्वती छात्रवृत्ति, माधव राज मास्के पुरस्कार, सूर्य भीमकुमारी मलेकु अक्षयकोष,मूर्तेन्द–मोहनमाया स्मृति अक्षयकोष स्मृति, कृष्ण बहादुर इन्द्र कुमारी दुर्गा देवी स्मृति अक्षय कोष, तीर्थनाथ–जानकी देवी गोंगल छात्रवृत्ति, गृहेन्द्र ध्वज–मान कुमारी स्मृति छात्रवृत्ति र माइरस श्रेष्ठ स्मृति छात्रवृत्ति वितरण गरेको हो । यस्तै गुठी तानसेनमा सञ्चालित जात्रा र विभिन्न धार्मिक संघसंस्थालाई सहयोग आर्थिक सहयोग गरेको छ ।    

गुठीले जन्मभूमी तानसेन, पाल्पाबाट काठमाडौंमा रहेर विभिन्न पेसा र व्यवसाय गर्दै आएका व्यक्तिहरुबाट संकलन गरेको रकम हस्तान्तरण गरेको हो । उक्त रकम कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, तानसेन गुुठी काठमाडौंका अध्यक्ष प्रमी श्रेष्ठ, गुठी तानसेन शाखाका अध्यक्ष सुशिल प्रधान र सम्बन्धित अक्षय कोषदाताहरुले उक्त रकम सम्बन्धित विद्यार्थी, व्यक्ति र सघसंस्थाहरुलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको शिक्षा, स्वास्थ्य, सामाजिक, धार्मिक, साँस्कृतिक क्षेत्रको विकासमा गुठीले गर्दै आएको सहयोग प्रशंसनिय रहेको बताए । उनले आगामी दिनमा ग्रामीण क्षेत्रका विद्यार्थी, संघ संस्थाहरुलाई समेत सहयोग गर्न आग्रह गरे ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले शिक्षा, स्वास्थ्य, साँस्कृतिक सम्पदाहरुको संरक्षणमा गुठीले देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको बताए । शिक्षा, स्वास्थ्य र सांस्कृतिकप्रति सबैले चिन्तन, मनन् गर्न उनले सबै व्यक्तिहरुलाई आग्रह गरे । तानसेन गुुठी काठमाडौंका अध्यक्ष प्रमी श्रेष्ठले आगामी दिनमा गुठीको अक्षयकोष वृद्धि गर्दै जाने बताइन् । कार्यक्रममा तानसेन गुुठी बुटवलका अध्यक्ष केदार प्रसाद श्रेष्ठ, नेपाल नेत्र न्योति संघ पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, गुठीका सल्लाहकार केदारलाल श्रेष्ठ, अक्षयकोषदाता शसी गंगोल, पाल्पाली नाट्यकला सांस्कृतिक समूहका अध्यक्ष किरण चित्रकार लगायतले गुठीले हरेक वर्ष गर्दै कार्यको खुलेर प्रशंसा गरे । यस बिचमा पाल्पाली नाट्यकला सांस्कृतिक समूहका अध्यक्ष चित्रकारले हराउँदै जान थालेको पाल्पाको लाखे नाँच संरक्षणमा आफुुहरु क्रियाशिल हुँदै आए पनि केही व्यक्तिहरुले आफुुहरुको अभियानलाई मागी खाने भाडो बनाएको भन्दै आलोचना गर्ने गरेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने‘ परम्परागत लाखे नाँच  आर्थिक स्रोतको अभावमा हराउँदै गएको छ , यसको संरक्षणमा कसैको पनि चासो छैन्, हामी २०६४ सालदेखि निरन्तर लाखे नाँच देखाउँदै आएका छौं, तर सहयोग गर्नुपर्नेमा उल्टै निरुत्साहित गराउने काम भएको छ । यो गलत हो । ’ चित्रकारले  स्थानीय सरकारले सहयोग गरेमा आफुहरुले कसैसँग सहयोग नमागी तानसेनमा नियमित रुपमा नाँच देखाउने समेत बताए ।    

गुठी तानसेनका अध्यक्ष सुशिल प्रधानको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सकुन्तला बज्रचार्यको स्वागत, सचिव विनयराज बज्रचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update