Shittalpati
डेंगी संक्रमण फैलिन नदेऊ

पछिल्ला केही दिन यता पाल्पासहित देशका ७५ वटा जिल्लामा डेंगी रोगको संक्रमण बढेको छ । हालसम्म पाँच हजार एक सय १९ जनामा डेंगी रोगको संक्रमण देखिएको छ भने तीन जना डेंगी रोगको संक्रमणको कारणले निधन भइसकेको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ । वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको हो ।

पाल्पामा डेंगी संक्रमण पुष्टि हुने गरेको भए पनि तीव्र रूपमा फैलि सकेको भने छैन् । यद्यपी उच्च सतर्कता भने अपनाउन आवश्यक छ । डेंगीको संक्रमण तीव्र बन्न सक्ने समय भर्खर सुरु भएकाले अन्यत्र पनि प्रकोपको सम्भावना छ । त्यसैले यसप्रति सचेत बन्न आवश्यक छ । संक्रमित एडिस जातको पोथी लामखुट्टेमार्फत फैलिने डेंगी भाइरसको संक्रमण नेपालीका निम्ति नयाँ होइन । यसको संक्रमणपछि मानिसले भोग्ने पीडाका अनुभव सालैपिच्छे व्यक्त हुने गरेका छन् । अहिले विभिन्न जिल्लामा संक्रमितको संख्या हेर्दा अझै उच्च दरमा फैलिने संकेत देखिएको छ । जसले गर्दा अझै थप सतर्क हुनुपर्ने अवस्था छ ।

दिनहुँ डेंगी संक्रमितहरु बढ्दै गएपनि सुरक्षा सतर्कतामा भने ध्यान दिएको देखिँदैन । संक्रमणबाट जोगिनका लागि समय छँदै प्रयत्न गर्नु आवश्यक छ । डेंगी हुन नदिन र फैलिनबाट रोक्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा ठूलो उपाय हो । यस अवस्थामा नागरिक स्वयं सचेत भई जनस्वास्थ्यप्रति ध्यान दिन आवश्यक छ । घरवरिपरि पानी जम्न नदिने, झाडी सफा गर्ने, पूरा बाहुला भएको कपडा लगाएर मात्र घरबाहिर हिँड्ने, झ्यालढोकामा जाली राख्ने, झुलभित्र सुत्ने गर्नाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । अहिलेको अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन । त्यसले ज्यान पनि लिन सक्ने हुनाले उक्त अवस्था आउन नदिन स्वयम व्यक्ति आफै सतर्क र सचेत हुनैपर्छ । बिरामीको चाप बढ्न सक्ने सम्भावनालाई समेत ख्याल गरेर अहिल्यैदेखि तयारी गर्न सकियो भने संक्रमण फैलन पाउँदैन । तसर्थ यसतर्फ सम्बन्धित निकायले समेत ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update