Shittalpati
भगवती जात्रा : राष्ट्र प्रमुखको भ्रमण र राष्ट्रिय पर्वको अपेक्षा          

सन्तोष खनाल
नेपाल विश्वका प्राचिन देशहरु मध्ये एक हो । आज विश्वमा धनी र विकसित कहलियका राष्ट्रहरु जसको अस्तित्व  नै थिएन त्यस बेला देखिने नेपाल राष्ट्र अविछिन्न अटल र एक रहँदै आएको छ  । पूर्विय सनातन सभ्यताको जगमा ज्ञानको आलोकले सिञ्चित यस पवित्र भूमि नेपाल, विविध संस्कृतिले सम्पन्न छ ।  पश्चिम नेपालको प्रमुख पाल्पा जिल्लाको पर्यटकीय शहर तानसेनमा भदौ महिनामा विविध सांस्कृति ,परम्परामा आधारित भएर विविध जात्राहरु मनाइँदै आइएको छ । विविध जात्राहरुको श्रृखंलामा फरक महत्व बोकेको जात्रा भवगती जात्रा एक हो । धार्मिक,सांस्कृतिक परम्परामा विश्वास गर्नेहरुको लागि शक्ति स्वरुपा भगवतीको जात्रा जनताको आस्था र विश्वासको पर्व हो । अर्कोतर्फ यो जात्रा नेपाल अंग्रेज युद्धसँग (ई.स १८१४–१६)जोडिएको, नेपालीले अंग्रेज साम्राज्यवाद माथि ऐतिहासिक जितगढीमा प्राप्त गरेको विजय श्री र राष्ट्रिय एकतासँग जोडिएको जात्राा पनि हो  ।

विश्व साम्राज्यको दौडमा लम्किरहेको तत्कालिन ब्रिटिस सरकार र त्यसको आडमा विभिन्न स्वतन्त्र राज्यहरूमा कब्जा जमाइसकेको ईष्ट इन्डिया कम्पनीले  एकातर्फं भारतमा कब्जा जमाइसकेको थियो । स्वतन्त्र राष्ट्र नेपालमाथि पनि यसको प्रभाव अवश्यक पर्दथ्यो । विशेष गरी अंग्रेजहरू तिब्बतमा प्रवेश गरी भोट(चीन) मा व्यापार  विस्तार गर्न चाहन्थे । नेपालले सहज तरिकाले तिव्वत तर्फको बाटो नदिनेकुरा चतृर अंग्रेजले नबुझने पक्कै भएन  । शान्तिपूर्ण तवरले यो कुरा प्राप्त गर्न कठिन थियो । उनीहरू कुनै न कुनै बाहानामा नेपालसँग युद्ध गर्न चाहन्थे । ई.स. १८०१ मा भएको व्यापार सन्धीका धाराहरुको अवहेलना भैसकेको थियो । सो सन्धी तोडिन गएको थियो । यसै परिपेक्ष्यमा अंग्रेजहरूले आफुले पूर्वतयारी गरिसकेपछि  बुटवल, स्यूराज र बाराका २२ गाउँहरूको निहुैँ देखाउँदै ई.स.१ नोभेम्बर १८१४ मा अंग्रेजले एकतर्फी युद्ध घोषणा गर्‍यो । आधुनिक हात हतियारले सुसञ्जित वैरी सामु नेपाली वीरहरूले विभिन्न स्थानमा आफ्नो कौशलता देखाएका इतिहास हामी माझ छ ।  यसै बीचमा बुटवल हुँदै पाल्पा कब्जा गर्ने जिम्मा लिएर  तत्कालिन कम्पनी सरकारले मेजर जनरल जोन सुलिभान उडको नेतृत्वमा फौज खटायो । उडको नेतृत्वमा गोलाबारुद, ठूलो संख्यामा हात हतियार सहित कम्पनी सरकारले गरेको तयारी थाहा  पाए पछि नेपाल सरकारको तर्फबाट अंगे्रज सेनासँग युद्ध गर्न हातहतियार , गोलाबारुद र तीन हजार नेपाली  कर्णेल उजीरसिंह थापाको नेतृत्वमा पाल्पा र बुटवल क्षेत्रमा खटाइयो । युद्धको लागि भौतिक तयारी नेपाली पक्षले गर्दै थियो । लडाईमा विजय प्राप्त गर्न साइत जुराउने कार्य अनि  तानसेनको बीचभागमा अवस्थित शक्ति स्वरुपा महिषासुर मर्दनी देवी भगवतीको पाऊ छोएर कर्णेल उजीरसिंह थापाले – युद्धमा विजयी भएमा एक विशाल मन्दिर निर्माण गराउनुका साथै सिंदुर जात्रा गरी भवगतीको महिमा फैलाउने भाकल गरे ।

नेपाली फौजले पनि आफ्नो तर्फबाट सम्पूर्ण तयारीपछि पाल्पा क्षेत्रमा खटिएका सैनिकहरूमा जोश, जाँगर ,उमगं र शक्ति सञ्चार भयो । कर्णेल उजीरसिंह थापाको रणकौशलता, नेपाली सेनाको बहादुरी, देशभक्तिको भवाना र भवगतीमाताको आर्शिवादले नेपाली सेनाले जितगढीको युद्धमा विजय श्री प्राप्त गरे ।  जितगढी युद्ध नै थियो जहाँ नेपाली सेनाले एक मात्र विजय प्राप्ति गरे । अंग्रेज कम्पनी सरकारको साम्राज्यवादी पाइलामा रोक लाग्न पुग्यो । नेपाली राष्ट्रियताको शीर उचो रहन सक्यो । नेपाली  चन्द्र, सूर्य अंकित झण्डाको शान उचो रहन पुग्यो । नेपालको अस्तित्व कायम रहन योगदान पुग्यो । नेपाली सेनाको युद्धक्षमता प्रंशसनीय रहन पुग्यो ।  

लडाईमा सफलता प्राप्त गरेपछि उजीरसिंह थापाले भाकल गरे बमोजिम तीन तले मन्दिर निर्माण वि.स. १८७२ मा शुरु गरे । वि.स.१८७६ मा मन्दिर निर्माण सम्पन्न गरी अष्टधातुको अठारभुजा भएकी महिषासुर मर्दिनी भवगतीको प्रतिमा स्थापना गरी यसै वर्षबाट सिंदुर जात्राको प्ररारम्भ भयो । जात्राा २०५ वर्ष देखि निरन्तर चल्दै आएको छ ।

वर्तमानमा  हाम्रो धर्म,  पूर्विय ज्ञान र संस्कृतिमा नव साम्राज्यवदीहरूले विभिन्न माध्यमबाट आक्रमण गरिरहेका तितो यर्थाथ बिच  भवगती जात्रालाई धार्मिक, सांस्कृतिक पक्षका साथै भवगती देवीको शक्तिको विश्वास गरी जसरी भक्तहरूले मनाउँदै आएका छन् त्यो आफैमा महत्वपूर्ण छ । अर्कोतर्फ नेपाली सेनाको राष्ट्र र राष्ट्रियताको रक्षाको लागि रणकौशलता, वीरताको प्रर्दशन गरी ज्यानको बलिदानले अंगे्रजको कदमलाई रोक्न सफल इतिहास र बिट्रिस साम्राज्यवादलाई परास्त गरेको विजय उत्सवको रुपमा  वि.स. १८७६ भगवती जात्रा मनाइँदै आइएको तथ्य छ । भावगती जात्रालाई राष्ट्रव्यापी बनाउन  सक्नुपर्छ ।  धिरता,  विरता र राष्ट्रियताको भावनालाई उजागर गर्ने यस ऐतिहासिक जाात्राको तथ्यलाई आजका दिनमा उजागर गर्नु आवश्यक छ । यस सन्देशलाई राष्ट्रियस्तरमा फैलाउन सक्नु आजको आवश्यकता हो ।

विशेषतः भवगती जात्रको महत्वलाई थप बल पु¥याउन विगत देखिनै सरकार प्रमुख वा राष्ट्र प्रमुखलाई आम पाल्पालीको तर्फबाट निम्तो दिए पनि यस वर्ष राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति तासनेन आउनु नै भवगती जाात्रको लागि र पाल्पा जिल्लाको लागि विशेष महत्व रहेको तथ्यलाई नर्कान सकिदैन । भवगती जात्राको पहिचान र महत्वलाई थप बलियो बनाउन राष्ट्र प्रमुखको भ्रमणले योगदान दिने नै छ ।  

 विश्वमा राष्ट्र र राष्ट्रियताको नारा दिएर केही समय यता  लोकतान्त्रिक अभ्यासबाट नै सरकारहरु निर्माण भैरहेको छ । सकारहरु आफ्नो मुलुक र मुलुकको पहिचान स्थापित गराउन लागिपरेका छन् । यस परिपेक्ष्यमा  हाम्रा सरकारहरुले राष्ट्र र राष्ट्रिय पहिचान र संस्कृतिलाई स्थापित गराउन पछि पर्नु हुँदैन । यस सन्दर्भमा  भवगती जात्रालाई राष्ट्रियता र स्वाधीनतासँग आवद्ध गर्नको लागि आवश्यक निर्णय लिन ढिलो गर्न हुँदैन । भवगती जात्रा  पाल्पाको मात्र जात्रा नभएर  नेपालको राष्ट्रिय पहिचान , गौरव नेपाली सेनाको रणकौशला विरता र विजय उत्सवको प्रतिक पनि हो । तसर्थ जात्रालाई राष्ट्र्रिय पर्वको रुपमा मनाइनु पर्छ ।  सरकारी क्यालेन्डरमा आगामी वर्ष यसलाई राष्ट्रिय पर्वको रुपमा मान्यता प्राप्त हुन सकोस् । यो आम पाल्पाली राष्ट्र प्रेमी जनताको माग पनि हो । यसवर्ष राष्ट्र प्रमुखको भ्रमणले पक्कै पनि भगवती जात्राको ऐतिहासिकतालाई देशव्यापी बनाउन मद्दत पुग्ने छ । भगवती जात्राले राष्ट्रिय पर्वको मान्यता पाउन सके  हाम्रो राष्ट्रियताको पहिचान र देश भक्तिको भावनालाई उचो बनाउन पनि सन्देह प्रवाह गरिरहने छ । आजको  ऐतिहासिक दिनले हामीमा राष्ट्रियताको भावना समृद्ध बन्न सकोस् । आफ्नो संस्कृति र परम्परामा गर्व गर्न बल प्राप्त होस् ।  भगवती मातकी जय ।

(लेखक त्रिभुुवन बहुुमुखी क्याम्पस पाल्पाका उप–प्राध्यापक तथा सहायक क्यापस प्रमुख समेत हुन् ।)

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update