Shittalpati
पाल्पामा आज ‘विजयोत्सव’

पाल्पा, नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । वि.स. १८७१ देखि १८७२ मा भएको नेपाल अँग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजय उत्सव मनाइँदै आएको हो ।

आजको दिन बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि भगवती जात्रा उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजारमा सोमबारदेखि नै फरक माहोल देखिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ । नेपालल अंग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.स. १८७७ देखि मनाउन थालिएको विजयोत्सव अहिले पनि निरन्तरता पाएको छ । प्रत्येक बर्ष पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको हो । यस वर्ष २०५ औं भगवती जात्रा निकालिन लागेको समितिका  अध्यक्ष अशोक कुमार महर्जनले बताए ।

यस वर्षको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । रणउजीरेश्वरी भगवतीको पूजा आराधना तथा रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल, संघका अर्थमन्त्री, पर्यटन मन्त्री, रक्षा मन्त्री, लुुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका अर्थमन्त्री, स्वास्थ्य मन्त्री, पर्यटन मन्त्रीदेखि संघीय सांसद, प्रदेश सांसद , सेनापति लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहने भगवती मन्दिर व्यवस्थापन समितिका  सञ्चार तथा प्रचार उपसमितिका संयोजक पदम न्यौपानेले बताए । नेपाल–अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष आजकै  दिन पाल्पाको तानसेनमा भगवती जात्रा निकालिँदै आइएको छ । आजको दिन तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटिस साम्राज्यको आक्रमणबाट नुवाकोट जितगढी जोगाएका सम्झना गर्ने गरिन्छ । तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा बजार परिक्रमा गराउन सुरु गरिएको हो । युद्वमा जानु अघि थापाले युद्वमा जितेमा तीन तले मन्दिर बनाई भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए । युद्वमा विजयी भएपछि उनले कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउ थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको हो । आज १२:३० बजे विजयोत्सव स्वरुप भगवतीको रथ उठाउने साइत रहेको सञ्चार तथा प्रचार उपसमितिका संयोजक न्यौपानेले बताए ।  

विधिपूर्वक गरिएको पूजापछि रथयात्रामा राखिने भगवतीको ढलौटको सानो प्रतिमूर्ति र कर्णेल उजिरसिंह थापाको तरवार रथमा राखि नगरका विभिन्न भागको परिक्रमा गराई पुनः मन्दिरमा ल्याई भित्र्याइने छ । रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी, निजामती कर्मचारी, संघ संस्थाहरुको समेत सहभागिता रहने छ । हरेक वर्ष कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ ।

जात्रालाई भव्य बनाउन पाल्पा– बुटवल रुट प्रयोग गरी तानसेन आउने सवारी साधानमा यात्रुहरुको लागि ५० प्रतिशत र ग्रामीण क्षेत्रबाट आउने यात्रुहरुलाई १० प्रतिशत सम्म छुट गरिएको छ भने होटलको खाना र बस्नको लागि १५ प्रतिशतसम्म छुट गरिएको समितिले जनाएको छ । जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय गौरवको रुपमा रहेको भगवती जात्रालाई सार्वजनिक विदा दिने निर्णय यस अघि नै गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update