गुल्मी, गुल्मीमा १७ वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो दुई वर्षको अवधिमा विभिन्न घटनामा परि घाइते अवस्थामा रहेका १७ वटा वन्यजन्तुको उद्धार गरेको हो ।
आपसी लडाई,ठुला जंगली जनावरको आक्रमण र शिकारीबाट घाइते भएका विभिन्न प्रजातिका वन्यजन्तुको उद्धार गरिएको डिभिजन कार्यालयले जनाएको छ । दुई वर्षको अवधिमा विभिन्न प्रजातिका चार वटा वन्यजन्तु मृत र १३ वटा वन्यजन्तु घाइते अवस्थामा फेला पारी उद्धार गरिएको वन अधिकृत तथा सूचना अधिकारी राजन कुँवरले बताए । विभिन्न स्थानमा घाइते अवस्थामा फेला परेका केही वन्यजन्तुको उपचारका क्रममा मृत्यु हुने गरेको कुँवरले बताए । डिभिजन वन कार्यालयले पछिल्लो दुई वर्षमा रतुवा, नीर बिरालो, चितुवा, गिद्ध, हुँडार, कमन कोब्रा र किङ कोब्रा लगायतका विभिन्न सात प्रजातिका वन्यजन्तुको उद्धार गरेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/२०८१ मा विभिन्न चार प्रजातिका दुई वटा चितुवा घाइते, एक हुँडार मृत, एक वटा कमन कोब्रा र एक वटा किङ कोब्रा घाइते अवस्थामा उद्धार गरिएको हो । यसैगरी आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार प्रजातिका १२ वटा वन्यजन्तुको उद्धार गरेको छ । जसमा चार वटा रतुवा घाइते, एक घाइते र एक मृत अवस्थामा नीर बिरालो, दुई वटा मृत र तीन वटा घाइते चितुवा र एक वटा घाइते गिद्धको उद्धार गरिएको हो ।
घाइते उद्धार गरिएकामध्ये उपचारको क्रममा एक वटा रतुवा र एक वटा चितुवाको मृत्यु भएको छ । उद्धार गरिएका घाइते वन्यजन्तु मध्य औषधी उपचारपश्चात् पूर्णरुपमा निको भएका बन्यजन्तुलाई गुल्मी जिल्लामा रहेका राष्ट्रिय वनमा छाडिएको छ भने मृत अवस्था फेला परेका वन्यजन्तु र उपचारको क्रममा मृत्यु भएका वन्यजन्तुलाई कार्यालय परिसरको कम्पाउण्डमा गाडिएको डिभिजन वन कार्यालयले जनाएको छ ।