Shittalpati
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा निकालियो भगवती रथयात्रा

पाल्पा,पाल्पाको तानसेनमा मंगलबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी २ सय ५ औं भगवती रथयात्रा निकालिएको हो ।

पाल्पाको सदरमुकाम तानसेनमा हजारौ जात्रालु जिल्ला र जिल्लाबाहिरवाट आएका छन् । जात्राका अवसरमा तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । कुमाल जातीका जवानले १२ बजेर ३० मिनेटमा भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएका छन् । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा आएका छन् । यस्तै, विद्यार्थी र शिक्षकहरु समेत सहभागी भएका छन् । धार्मिक संघ संस्थाका झांकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताए । नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि मनाउन सुरू गरिएको विजय उत्सव यसवर्ष पनि निरन्तरता दिइएको हो । विगतमा भन्दा यस वर्षको जात्रा उत्साहजन र ऐतिहासिक रहेको जात्रामा सहभागी पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जनले बताए ।

विश्व विजयको यात्रामा हिँडेको अंग्रेज सेनासँग नेपाली सेनाले विक्रम सम्वत् १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पाको नुवाकोट र बुटवलको जितगढीमा युद्ध लडेर विजयको झण्डा फहराएको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई पटकसम्म भएका युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि त्यसको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रासहित विजय उत्सव मनाउन सुरू गरिएको हो । बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरे अनुसार यो जात्रा मनाउने गरिएको किबदन्ती रहेको छ । ऐतिहासिक भगवती जात्रा राष्ट्रिय विरतासँग जोडिएको भए पनि यो जिल्लामै सिमित बन्न पुगेको छ ।

भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति रामचन्द्र पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिरमा पूजाआजा गरेका थिए । रथयात्रामा  राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सभामुख बसन्त घर्ती , प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश स्वास्थ्य मन्त्री खेम सारु, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, संघीय सांसदहरु ठाकुर गैरे, नारायण आचार्य, प्रदेश सांसदहरु वीरबहादुर राना, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु र कर्णेल उजिर सिंह थापाका परिवार सहित हजारौं भक्तजनहरुको समेत सहभागीता रहेको थियो । जात्राको राष्ट्र प्रमुखबाट अवलोकन भएको यो पहिलो पटक  हो । राष्ट्रपति पौडेलले  भगवती जात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारीस्तरबाट पहल गर्ने बताएका छन् ।

जिल्लाका सरकारी कार्यालयहरु, संघसंस्था, समूहरु सबै रथयात्रासँगै सदरमुकाम तानसेन परिक्रमा गरेका थिए । रथ यात्रालाई भजनकिर्तन, पञ्चेबाचा, सहितको साँस्कृतिक झाँकी र्‍यालीले तानसेन नगर परिक्रमा गराइएको थियो । जात्रामा सहभागिताका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही , काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए । राष्ट्रिय विरतासँग जोडिएको भगवती जात्राका दिन आज लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update