पाल्पा,लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक श्री ७ रणउज्जेश्वरी भगवती मन्दिरको पुनर्निमार्ण छिट्टै गर्ने बताएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई तानसेनमा सम्बोधन गर्दै उनले प्रदेश सरकारले मन्दिरको पुनर्निमार्ण छिट्टै गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मन्दिरको पुनर्निर्माणको लागि तयार भएको डिपीआरलाई आगामी वर्षको कार्यक्रममा समावेश गरिने मुख्यमन्त्री आचार्यले बताए । उनले यस बर्ष प्रदेश सरकारले मन्दिर मर्मतको लागि २० लाख बजेट विनियोजन गरेको भन्दै त्यसमा बजेट थपेर काम गर्ने उल्लेख गरे । मुुख्यमन्त्री आचार्यले भने ‘ हामीले बजेटको व्यवस्थापन गर्छौ, यसमा तपाईहरु ढुुक्क हुनुहोस्, अहिले कति गर्न सक्छौं गछौं, त्यो २० लाखमा पनि थपेर काम गर्छौं र आगामी वर्ष बाँकी रहेको काम पनि गछौं, यो गौरवको आयोजना गर्ने दायित्व प्रदेश सरकारको हो । हाम्रो बुझाईका कारण केही समस्या आएकाले बजेटको कमी भएको हो ।’ पाल्पाको ऐतिहासिक परम्पराले धर्म, संस्कृति, परम्परा तथा इतिहासलाई जोगाइरहेको भन्दै मुख्यमन्त्री आचार्यले रथ यात्रालाई प्रदेश सकारले सांस्कृतिक सहकार्य, भाइचारा र एकताको प्रतिकको रूपमा लिएको समेत उल्लेख गरेका छन् ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संरक्षक मेघराज शर्मा, लुुम्बिनी प्रदेशका सभामुख बसन्त घर्ती मगर, संघीय सांसदहरु ठाकुर गैरे, नारायण आचार्य, लुुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर राना, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ,अक्षयकोषदाता तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, अक्षयकोषदाता तथा लुुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल, महासंघका सल्लाहकार राजेश कुमार अर्याल, पुरस्कार छनोट समितिका संयोजक तथा महासंघका सल्लाहकार गोविन्द भट्टराई लगायतले सरकारका कमीकमजोरी, विकृति, विसंगतीका बारेमा खुलेर कलम चलाउन आग्रह गरेका छन् । सोही अवसरमा प्रदेश स्वास्थ्य मन्त्री खेम सारुले आफ्नो बुवाको स्मृतिमा शिक्षा र स्वास्थ क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि २५ हजार ५ सयको अक्षयकोषको स्थापनाको घोषणा गरे ।
महासंघले विभिन्न विधामा २१ पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघले लुम्बिनी मेडिकल कलेजबाट स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पुर्व अध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी, मेघ गोविन्द, झपेन्द्र पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक सचिव भरत शर्मा, तानसेन नगरपालिकाबाट स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा (मिलन) र मुक्ति न्यौपाने, जिल्ला समन्वय समितिबाट स्थापित सिर्जनशिल पत्रकारिता पुरस्कारबाट मिलन विक, कृष्ण दर्नाल र सिता डोटेल, रामपुर नगरपालिकाबाट स्थापित ग्रामिण पत्रकारिता पुरस्कारबाट शुसिला रेग्मी र रमा भण्डारी, सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट दयाराम न्यौपाने र मानवअधिकार पत्रकारिता पुरस्कारबाट नारायाण न्यौपाने पुरस्कृत गरेको हो । यसैगरी महासंघले लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट रामचन्द्र रायमाझी विरेन्द्र घिमिरे, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, रिमा सोमै, सुनिल कार्की, धनबहादुर ठाडालाई पुरस्कृत गरेको हो । कार्यक्रम महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमुर्ति तिमल्सीनाको सञ्चालनमा भएको थियो ।