Shittalpati
मंकीपक्स फैलिन नदिन पूर्वतयारीमा जोड देऊ

कोरोना महामारीले केही समय अक्रान्त बनाएको विश्वलाई फेरी मंकिपक्स संक्रमणले सताउन थालेको छ । यति बेला अफ्रिका र कंगोलाई मंकिपक्सले सताएको छ । त्यसबाहेक अन्य देशमा पनि यो क्रमशः सल्किरहेको छ । १६ हजार ६ सय जनामा मंकिपक्स संक्रमण पुष्टि हुनुले यसको तीव्र फैलावट बुझ्न सकिन्छ । यसको घातक प्रभावबाट पाँच सय ३७ जनाको मृत्यु भइसकेको छ । यो आफैंमा भयावह  अवस्था हो । यस अर्थमा पनि यसलाई सामान्य मान्न सकिन्न ।

अब यसले नेपालमा पनि आफ्नो प्रभाव फैलाउने सम्भावना रहेको विज्ञहरूको आशंका छ । आजको दिनमा विश्वको कुनै पनि कुनामा फैलिएको रोग अर्को कुनामा सजिलै पुग्न सक्छ । यसकारण पनि मंकिपक्सप्रति नेपाल अहिल्यै चिन्तित हुनुपर्छ । यो सरुवा मात्र छैन घातक पनि छ । त्यसैले मंकिपक्स ग्रस्त मुलुकबाट फर्किएका नेपाली तथा त्यहाँबाट आउने विदेशीले यसलाई सजिलै नेपाल ल्याउन सक्ने खतरा छ । तर, नेपाल भने यसबारे केही सोचेजस्तो र जोखिम नियन्त्रण र प्रतिकार्यका लागि तयारीमा देखिन्न । जबकि अफ्रिकी मुलुकहरूमा यो रोगले कैयौंको ज्यान लिइसकेको छ । छिमेकी पाकिस्तानसम्म यो रोग देखा परिसक्यो । अब भारतसँग खुला सीमा भएको नेपाल भित्रिन बेर नलाग्न सक्छ । कोभिडभन्दा मंकिपक्स खतरनाक छ । सासकै माध्यमबाट यो एकअर्कामा सर्छ । एउटै ओच्छ्यान प्रयोग गर्दा पनि सर्छ । झन् छुँदा र म्वाइँ खाँदा सर्ने भइहाल्यो । ज्वरो नै मंकिपक्सको पहिलो लक्षण हो । ज्वरोपछि छाला, अनुहार, हत्केला र पैतालाहरूमा बिबिरा (डाबर)हरू देखा पर्छन् । मांसपेशीहरू दुख्ने र संक्रमण जटिल बन्दै र बढ्दै जाँदा दृष्टि गुम्न सक्छ, निमोनिया हुन्छ, मस्तिष्कमा असर पुर्‍याउँछ र अन्तमा ज्यानै पनि जान्छ । यसर्थ यस्ता महामारीबाट जोगिन आ–आफ्नो ठाउँबाट सचेतता र सावधानी अपनाउनु आवश्यक छ । सरकारले पनि नीति, नियमसँगै स्वास्थ्य सेवा चुस्त दुरुस्त पार्ने, सकेसम्म रोग भित्रिन नदिने र भित्रिइहाले नागरिकको स्वास्थ्योपचार गर्ने आवश्यक पूर्व तयारी अहिलेदेखि नै गर्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update