Shittalpati
एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित

पाल्पा, नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित भएका छन् । मंगलबार पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित भएका हुन् ।   

सचिव खुलाको पाँच पदमा २७ जनाको उम्मेदवारी परेको थियो । जसमा पाण्डेयले उत्कृष्ट मत ल्याएर सचिवमा निर्वाचित भएका हुन् । पाल्पाको मदनपोखरामा जन्मिएका पाण्डेय कानुनमा स्नातक हुन् । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी शिक्षण पेशामा रहेका बेला बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल परेका थिए । २०४० सालमा नेकपा (माले) को गाउँ कमिटी उपसचिव बनेका पाण्डेय इलाका सदस्य हुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै नेकपा (एमाले)को केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगेका थिए । केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा पनि विजयी भए । पाण्डेयले २०६४ सालको दोस्रो संविधानसभा निर्वाचन भने हारे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका उनी २०७२ मा उद्योगमन्त्री बनेका थिए । एमाले विभाजनपछि उनी नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भए । पार्टीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाण्डेय २०७९ को निर्वाचनमा काँग्रेस, माओवादी सहितको गठबन्धनबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भई नेकपा एमालेका ठाकुर गैरेसँग पराजित भएका थिए । यद्यपी पाण्डेय पाल्पाको विकासमा भने अहिले पनि उत्तिकै तल्लीन छन् ।  

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update