Shittalpati
चाडपर्वको सिजन

यो वर्षका ठूला चाडपर्वहरु हिन्दुहरुको घर आगनमा भित्रिन थालेका छन् । साउने संक्रान्तिदेखि गाईजात्रा–रोपाइँजात्रा सम्मका चाड हामीले यो वर्ष मनाइसकेका छौं भने तिजदेखि छठसम्मका पर्वहरु आउँदै छन् । महान चाडपर्वहरु मनाउन पैसा र सामानको जोहो गर्न थालिसकिएको छ । केटाकेटी नयाँ लुगा र मीठो खानाको चर्चा गर्न थालिसकेका छन् भने कर्मचारीले दशैं खर्च के–के गर्ने भनेर योजना बनाउँदै छन् । कतिपय लामो बिदाको सदुपयोग गर्न यात्राको चाँजोपाँजो मिलाउन थालिसकेका छन् भने कोही घर शृंगार गर्दै छन् । ठूला चाडबाडको प्रतीक्षामा विदेशमा रहेका हजारौं नेपाली स्वदेश आउन यात्राको तयारी मात्रै हैन, टिकटसम्म काटेर बसेका छन् । साउन महिना सकिएर भदौ लाग्ने वित्तिकै नेपालमा चाडपर्वहरुको मौसम शुरु भइहाल्छ । लाखे नाँच, रोपाइँ जात्रा, गाई जात्रा, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, तिज, दशैं, तिहार, छठजस्ता पर्वहरुले हाम्रो जातीय तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्दछन् । हरेक जातजातिका आ–आफ्ना संस्कृति, रीतिरिवाज र परम्परा छन् । ती सबै हाम्रा सांस्कृतिक धरोहरका रुपमा रहेका छन् ।

चाडपर्वको आफ्नै विशिष्ष्ठ महत्व रहेको छ । हरेक चाडपर्वले कुनै न कुनै रुपमा मानव समाजलाई एकढिक्का बनाउने, आपसी सद्भाव र प्रेम जगाउने काम गर्छ । झट्ट हेर्दा चाडपर्व ढोंग वा आडम्बर लागेपनि यसको आफ्नै मर्म र विशेषता हुन्छ । चाडपर्व पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने सेतु हो । चाडपर्वले हामी, हाम्रो समाज र संस्कृति तथा परम्परालाई प्राचीनकालदेखि डोहोर्‍याउँदै ल्याएको छ । नेपाली समाज, राष्ट्रिय एकता र अखण्डताका लागि चाडपर्व महत्वपूर्ण छन् । जसले सामाजिक सौहाद्र्रतामा बेलाबखत परेको खाडल पुर्दै आएका छन् । समाजमा देखिने मतभेद अन्त्य गर्न मद्दत गर्दै आएका छन् । समग्रमा भन्दा संस्कृतिलाई जीवन्त राख्ने माध्यम हाम्रा चाडपर्व नै हुन् । जसको महत्व युगौंयुगदेखि जस्ताको त्यस्तै छन् । तर पछिल्लो समय चाडपर्वहरु भड्किलो बन्दै गएका छन् । यो अत्यन्त दुखको कुरा हो ।

महिला समुदायले बढी महत्व दिने तीज पर्व हिजो आज महिनौंसम्म मनाउने प्रचलन छ । होटल रेष्टुरेण्टमा तिज मनाउने र अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई राम्रो भन्न मिल्दैन । अरु चाडपर्वहरु पनि भड्किलो बन्दै गएका छन् । चाडपर्वहरुको आफ्नै मौलिकता भएकाले आफुसँग जे छ त्यही उपभोग गरेर  पनि राम्ररी मनाउन सकिन्छ । यसर्थ चाडपर्वको सांस्कृतिक महत्वलाई जोगाउँदै यसका विकृति विसंगति रोक्नेतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update