Shittalpati
बुुटवलमा विद्युतीय सवारीको प्रवर्द्धन गर्न प्रयास 

बुटवल, नेपालमा पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारी साधनलाई विकल्पको रूपमा अगाडि सारेर बहस चल्दै आएको छ । न्यून कार्बन उत्सर्जन हुने भएकाले वातावरणविद् पनि विद्युतीय सवारी साधनकै पक्षमा वकालत गरिरहेका छन् । 

जलवायु परिवर्तन विश्वकै लागि ठूलो चुनौती बनिरहेको छ । यसको मुख्य कारक पेट्रोलियम सवारीसाधन हो भन्ने पुष्टि भइसकेको छ । तर हाम्रोजस्तो विकासोन्मुख देशमा विद्युतीय सवारी प्रवद्र्धनका लागि चाहिने तदारुकता देखिँदैन । सरकारको नीति तथा कार्यक्रममै सार्वजनिक विद्युतीय सवारीलाई प्राथमिकता दिने भने त्यो प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन् । पछिल्लो समय निजी क्षेत्रबाट विद्युतीय बस चलाउन केही प्रयास भएको पनि देखिन्छ । तर सरकारले यस्ता पहललाई सहयोग गर्न सकेको छैन । सरकारले करको दर बढाए पनि कतिपय व्यक्तिले आफ्नो विवेकको भरमा विद्युतीय साधनको प्रयोग गरिरहेका छन् । तर, व्यक्तिगत पहलले मात्र पेट्रोलियम सवारीसाधनलाई विस्थापित गर्न सकिन्न । सरकारले विद्युतीय सवारी प्रवद्र्धनमा खासै चासो नदेखाए पनि बुटवलमा भने स्थानीय सरकारको सक्रियतामा विद्युतीय सवारीको प्रयोग बढाउन प्रयास थालिएको छ । बुटवललाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारी साधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एशियाली विकास बैक एडीबी र स्थानीय व्यवसायीहरुबिच  छलफल चलाइएको छ । बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा तीन पक्षले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने बताएका छन् ।

छलफलले विद्युतीय सवारी सञ्चालनका मोडलहरु, व्यवसायीलाई दिन सकिने सहुलियत र चार्जिङ तथा मर्मत स्टेशनहरुका बारेमा एकमत व्यक्त गर्दै थप अध्ययनपछि दोश्रो चरणको छलफल गर्ने निष्कर्ष निकालेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार देशमै सबैभन्दा धेरै सवारी साधन भएकोमध्येको शहर बुटवलबाट यसको शुरुवात गर्ने गरी एडीबीले निश्चित लगानीमा बुटवल उपमहानगरपालिकाले प्रोत्साहन गर्ने र व्यवसायीहरुले लगानी गरेर विद्युतीय सवारी सञ्चालन गर्ने खालको मोडलमा जान सकिने छ । बुटवलबाट छुट्ने सवारीहरुलाई पर्यटकीय स्थलहरुमा पु¥याउने र नियमित सवारी सञ्चालनलाई थप व्यवस्थित गर्ने गरी प्रयासको थालनी भएको प्रमुख पाण्डेयले बताए । छलफलमा सहभागी एडीबीका नेपाल आवासीय मिसनका लिडर अरुण रामामुर्तिले धेरै सवारीको चाप भएको बुटवलबाट विद्युतीय सवारी साधन सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिका र स्थानीय व्यवसायीहरुसँगको छलफल सकारात्मक भएको बताए । उनले एडीबीले निश्चित लगानी गरेर यसमा प्रोत्साहन गर्न खोजिरहेको बताए । विद्युतीय सवारीहरुको उपयोग विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै उनले वातावरणमैत्री भएकाले पनि यसको उपयोगमा चासो बढिरहेको बताए । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पूराना गाडी विस्थापित गरेर नयाँ गाडी ल्याउँदा विद्युतीय सवारी ल्याउने र यसमा एडीबी र बुटवल उपमहानगरपालिकाको समेत साथ रहने कुरा सकारात्मक रहेको बताए । छलफलमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, एडीबीका सिनियर प्रोजेक्ट अफिसर हेमन्त तिवारी, एडीबीका प्रतिनिधिहरु ग्लोरिया गेरिल्ला टेकनोमो, ओली नोरोजोनो, गुरुदत्त अधिकारी, रोम भट्टराईलगायत सहभागी थिए ।  

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update