Shittalpati
काँग्रेस पाल्पाका पूर्व सभापति विप्रको निधन, देउवाद्वारा दुःख व्यक्त

पाल्पा, नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापती ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । प्रजातन्त्र सेनानी एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।

आफ्नै निवास तानसेन–६ बर्तुङमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वि.स. १९९६ भाद्र ३० गते पाल्पामा जन्मिका कोइराला २०४८ देखि २०५२ सम्म नेपाली काँग्रेस पाल्पाको सभापति थिए । पार्टीको विभिन्न तहमा रही कार्य गरेका स्वर्गीय कोइराला संगठन निर्माणको क्रममा वि.सं. २०१५ मा युवा काँग्रेस पाल्पाको अध्यक्ष बनेका थिए । काँग्रेसमा सादगी नेताको रुपमा परिचित उनी प्रजातन्त्रको पुर्नस्थापनाका निम्ति वि.सं. २०१७ देखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

वि.सं. २०४२ को सत्याग्रहदेखि २०४६ सम्मका जनआन्दोलनमा कोइराला अग्रमोर्चामै रहेर काम गरे ।   आन्दोलनका क्रममा पटक–पटक जेल जीवन विताएका उनी प्रजातान्त्रिक आन्दोलनको मोर्चामा जहिल्यै निडर, प्रखर, अग्रणी र बफादार भूमिकामा रहे । स्वर्गीय कोइरालाका श्रीमती, तीन छोरा र एक छोरी हुुन् । तीन छोरा मध्ये दुई छोरा र श्रीमतिको निधन भइसकेको छ । कोइरालाको निधनबाट पार्टीले एक अग्रज र अनुभवी अभिभावकलाई गुमाएको काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए ।

 कोइरालाको निधनप्रति सभापति देउवा दुखी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी तथा पाल्पाका पूर्व सभापति कोइरालाको निधनमा दुःख व्यक्त गरेका छन् । उनको निधनप्रति शोक वक्तव्य जारी गर्दै भनेका छन् ‘नेपाली कांग्रेस पाल्पाका पूर्व सभापति ठाकुरचन्द्र (विप्र) कोइरालाको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि  काँग्रेसका नेताहरु उनको निवास बर्तुङ पुुगेका छन् । आज नै उनको राम्दीमा दाहसंस्कार गरिने वडा अध्यक्ष सागरमान महर्जनले बताए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update