Shittalpati
तानसेनका उपभोक्तालाई खानेपानी महसुुलमा छुट दिन सत्तारुढ दलको माग

पाल्पा, तानसेनका उपभोक्ताहरुबाट खानेपानी महसुल दर बढी भएको गुनासो आएपछि सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले तानसेन नगर समितिले उपभोक्ता समिति समक्ष महसुलमा छुट दिन माग गरेका छन् । उनीहरुले तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण गराउँदै तत्काल उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने गरी खानेपानी महसुलमा छुट दिन माग गरेका हुन् ।

नेपाली काँग्रेसका नगर सभापति सुवर्णमुनी शाक्य, एमालेका नगर अध्यक्ष गुँराश आत्रेयले समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै खानेपानी महसुलमा तत्काल छुट दिन अनुरोध गरेका छन् । सभापति/अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुको टोलीले समितिको कार्यालयमै पुगेर सरकारले खानेपानी, विद्युत महसुलमा ५० प्रतिशत छुट दिएकाले उपभोक्ताहरुलाई पनि सोही अनुसारको छुट दिन समितिलाई ध्यानाकर्षण गराएको हो ।

‘खानेपानीको महसुल  दर बढी भएको उपभोक्ताहरुको गुनासो आएको छ । अहिले केन्द्र सरकारबाट नै खानेपानीमा प्रयोग हुने विद्युत महसुलमा पँचास प्रतिशत छुट दिएको र सो छुट तानसेन खानेपानीले प्राप्त गरिरहेको छ । तानसेन खानेपानीले विद्युतमा पाएको छुट अनुसार उपभोक्ताहरुले तिर्ने महशुल दरलाई पुर्नमुल्याङ्कन गरी घटाउन जोडदार माग गर्दछौं’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

उपभोक्ताहरुको घर–घरमा पर्याप्त खानेपानी सहज र सुलभ तरिकाले पुर्‍याउने उपभोक्ता समितिको कर्तव्य हो । यसका लागि सम्पूर्ण उपभोक्ता, पाल्पामा क्रियाशिल राजनीतिक दल, नागरिक समाज लगायतले समितिलाई पूर्ण सहयोग र सहकार्य गरिरहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । तानसेनमा खानेपानी जम्मा गर्ने र वितरण गर्ने प्रक्रियामा समस्या रहेकाले सबैको सहकार्य र सहजिकरणको आवश्यकता रहेको उल्लेख गर्दै छिटो महसुलमा छुट दिएर उपभोक्ताहरुलाई सहज गरिदिन उनीहरुले समितिलाई आग्रह गरे ।  ध्यानाकर्षण पत्र बुझ्दै  समितिका अध्यक्ष श्रेष्ठले राजनीतिक दलहरुले गराएको ध्यानाकर्षणले हामीलाई उर्जा थपेको र छिट्टै महसुल दरमा छुट हुने प्रतिवद्धता जनाए । उनले भने ‘उपभोक्ताहरुलाई समितिले केहि न केही रकम छुट दिने गरी अगाडि बढेको छ ।’ तानसेनको लिफ्ट खानेपानी पहाडी क्षेत्रका अन्य ठाउँको तुलनामा सस्तो रहे पनि खर्चिलो बढी रहेको समितिका अध्यक्ष श्रेष्ठले बताए । उपभोक्ताहरुले भने महसुल रकम महँगो भएको भन्दै गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update