Shittalpati
बाटो कुर्दै आफन्त, अझै भेटिएनन् बेपत्ता पारिएका

पाल्पा, गुल्मीको चोर काटेकी ६५ वर्षीया सीता थापा (नाम परिवर्तन)ले छोराको पर्खाइमा थुुप्रै वर्ष विताईन् । सशस्त्र द्वन्द्वको बेलामा २१ वर्षीय पूरन बहादुर थापा बेपत्ता पारिएका थिए । आमा सीता अझै पनि बेपत्ता छोराको पर्खाइमा छिन् । भनिन्छ ‘सास छुउञ्जेल आश हुन्छ । तर यतिका वर्ष बित्दा पनि न सास आयो न लास ।’ आमाको मन न हो, छिनाउन खोज्दा पनि छिन्दैन छोरा फर्किहाल्ने आशाको त्यान्द्रो । माओवादी युद्धको बेला आम नागरिक युद्धको चेपुवामा थिए । थापा त एक प्रतिनिधि पात्रा मात्रै हुन ।

उनी जस्ता धेरै आमा बुवाहरु आफ्ना छोराछोरीहरुको पर्खाइमा छन् । नेपालमा बेपत्ता पारिएकाहरुको यकिन तथ्यांक नभए पनि धेरै बेपत्ता पारिएको छ । नेपालमा  २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले थालेको दशक लामो सशस्त्र संघर्षका समयमा सरकार र विद्रोहीका तर्फबाट हजारौं नागरिक जबर्जस्ती बेपत्ता पारिएका थिए । हिंसाको बाटो अख्तियार गरेको माओवादी शान्ति प्रक्रियामा आएर पटक–पटक सरकारमा गए पनि सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता बनाइएकाहरूको अवस्था भने आज पनि अज्ञात नै छ । बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न पीडितहरुले निरन्तर आवाज उठाइरहेका छन् । पीडित हुनेहरुको संख्या पनि बढी छ । त्यस क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका र अंगभंग भएकाहरू पनि ठूलै संख्यामा छन् । हराएका आफन्त खोज्न साँघुरो कोठाबाट बाहिर निस्किए पनि बेपत्ताको अत्तोपत्तो छैन ।

नेपालको शान्ति प्रक्रियाको मूल पाटो मानिएको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन हुन नसक्दा यसले लामो समयदेखि न्यायको पर्खाइमा रहेकाहरू निराश छन् । सरकार पछिल्लो पटक शान्ति प्रक्रियाका बाँकी काम फत्ते गर्ने भन्दै लागेको छ । लामो समयपछि अहिले बल्ल संक्रमणकालिन न्याय सम्बन्धि विधेयक पारित भएको छ । यसले केही आशा भने जगाएको छ । पीडितहरुले न्याय पाउनेमा थोरै भए पनि आश गर्न सकिन्छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update