Shittalpati
यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन, सेवाग्राहीको गुनासो प्राथमिकतामा

अर्घाखाँची, लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्नका लागि कार्यदल गठन भएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो । उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ गठन गरिएको जानकारी दिए ।

यातायात क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले समस्या समाधानका लागि कार्यदल गठन गरेको हो । ‘यातायात क्षेत्रका विषयमा आम नागरिकबाट केही गुनासा आएका छन्, यसको व्यवस्थापनका लागि माग भएको छ’, मन्त्री न्यौपानेले भने, ‘यातायात क्षेत्रमा भएका समस्या समाधान गरी यसको उचित व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको हो, यो कार्यदलले कसरी यातायात क्षेत्र आम नागरिकका लागि सहज बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने छ ।’ मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत, सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमतिपत्र) का प्रमुख, यातायात व्यवस्था कार्यालय रुपन्देही ९सवारी०का प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य रहेका छन् ।

दश सदस्यीय कार्यदलले प्रदेश यातायातसम्बन्धी प्रवाह हुँदै आइरहेको सेवा प्रवाहमा देखिएका नीतिगत जटिलताका बारेमा अध्ययन गर्नेछ । यातायात सेवा प्रवाहमा देखिएका कानुनी जटिलता सम्बोधनका लागि अध्ययन गरिने र सोही अध्ययनअनुसार आवश्यक पहलकदमी लिइने मन्त्री न्यौपानेले जानकारी दिए । यसैगरी सेवाग्राहीको जनगुनासोलाई कार्यदलले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । यातायातसम्बन्धी सेवा पाउन आम नागरिकले सास्ती व्यहोर्नुपरिरहेको गुनासो आइरहेको छ । यातायात कार्यालयबाट प्राप्त हुने सेवा पाउन झन्झट व्यहोर्नुपरिरहेको गुनासो सेवाग्राहीबाट व्यापक रूपमा आउने गरेको छ । सेवाग्राहीले सेवा लिन भोग्नुपरेका समस्या पहिचानका लागि उनीहरूको गुनासा यो कार्यदलले सुन्ने छ । ‘सेवाग्राहीले सेवा लिँदा के–कस्ता समस्या वा झन्झट व्यहोर्नु परिरहेको छ भनेर सेवाग्राहीको समस्या पहिचानका लागि गुनासो सुनिने छ’, मन्त्री न्यौपानेले भने, ‘सेवाग्राहीका गुनासा र सुझावका आधारमा कसरी यातायात क्षेत्रलाई नागरिकमैत्री बनाउने भन्ने योजना कार्यदलको अध्ययनअनुसार बनाइने र यसलाई व्यावहारिक रूपमा लागू गरिनेछ ।’

मुलतः यातायात कार्यालयमा टोकन प्रणाली लागू नहुँदा सेवाग्राहीले लामो समयसम्म सेवा पाउन लाइन बस्नुपर्ने गुनासो गर्दै आएका छन् । मन्त्री न्यौपानेले प्रदेशमा रहेका सबै यातायात कार्यालयलाई तत्काल टोकनको व्यवस्था गर्न केही दिनअघि निर्देशन दिइसक्नुभएको छ । यसैगरी प्रशासनिक एवं व्यवस्थापकीय समस्या, अन्तर मन्त्रालय समन्वय र भूमिकाका विषयमा कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने भएको छ । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले समग्र यातायात क्षेत्रको सुदृढीकरण एवं व्यवस्थापनको आगामी कार्ययोजना तथा मार्गदर्शन निर्माण गर्ने मन्त्री न्यौपानेले जानकारी दिए । सोही प्रतिवेदनका आधारमा यातायात क्षेत्रको सुदृढीकरण एवं व्यवस्थापनको आगामी कार्ययोजना बनाएर यातायात क्षेत्रलाई व्यवस्थित र नागरिकमैत्री बनाइने मन्त्री न्यौपानेले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update