Shittalpati
विषादी प्रयोग बारे सचेत बनौं

मानिसले खाने प्रत्येक गाँसमा विषादी हुन थालेको छ । कृषि उत्पादनहरूमा अत्याधिक विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी÷फलफूलमार्फत उपभोक्ताले मन्द रूपमा ‘विष’ खाइरहेका छन् ।

विषादीको जथाभावी प्रयोग चाहिं निकै जोखिमपूर्ण र चिन्ताजनक रहेको छ । तरकारी र फलफूल बालीलाई रोगकीराबाट बचाउन गलत तरिकाले जथाभावी विषादी प्रयोग हुँदा मानव स्वास्थ्य र पर्यावरण जोखिममा घातक असर परिरहेको छ । विशेष गरी शहरी क्षेत्रका उपभोक्ताको स्वास्थ्यमा बढी जोखिम थपिएको छ । विषादीका कारण दिनप्रतिदिन मानव स्वास्थ्यमा ठूलो असर पर्दै जाँदा विषादीको मात्रा घटाउन भने सरकारी तहबाट खासै पहल भएको पाइँदैन । थोरै जग्गामा धेरै फलाउने र अधिकतम लाभ लिने अभिप्रायले किसानहरूले विषादीको जथाभावी प्रयोग गरिरहेकै छन् । व्यावसायिक खेती किसानी गर्दा विषादीको प्रयोग अत्यधिक हुने गरेको छ । छिटो फल्ने, ठूलो फल्ने र रोगकीराबाट बचाउने हुँदा किसान विषादीमा आकर्षित छन् । तर विषादीले त्यतिमात्रै गर्दाे रहेनछ, क्यान्सरै पनि लगाउँदो रहेछ, वा मिर्गाैला नै फेल गराउँदो रहेछ भन्ने धेरै थाहा छैन् । विषादी हालेको तरकारीले किसानलाई मात्रै नभई उपभोक्तालाई पनि घात गर्छ । तर नेपालमा तरकारीको विषादी नापजाँच गरेरमात्रै उपभोक्ता कहाँ पुर्‍याउने चलनै छैन । विषादी प्रयोग बारे सचेत बनौ । भएका विषादीमापक यन्त्रहरू पर्याप्त र ठाउँठाउँमा छैनन् । प्रत्येक तरकारी बजारमा त्यस्तो यन्त्र हुनुपर्छ र सबैतिर जाँचिनुपर्छ । विषादीको प्रयोगले केही कीराहरू मारेर बाली त बचाइएला, तर आफूले आफैंलाई मारिरहेको यथार्थ नकार्न भने सकिंदैन । तसर्थ मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको विषादी प्रयोगमा भइरहेको यो लापरवाहीप्रति सचेत हुनैपर्छ ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update