पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुुर थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । रामपुर–१० राहुडाँडामा सुुपारी आँप समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले स्थानीय तहको समृद्धिका लागि जनताको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले स्थानीय सरकारले सञ्चालन गर्ने योजना तथा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न हरेक स्थानीयबासीको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । नगर प्रमुख थापाले भने ‘हरेक तहको सरकार र जनताबिच सकारात्मक समन्वय र सहयोग सहमति हातेमालो गर्न आवश्यक छ ।’ उनले नगरको विकासका लागि स्थानीय सरकारसँग प्रतिपक्षको रुपमा भन्दा पनि समकक्षी भएर काम गर्न आग्रह गरे । समुहको भवन निर्माणका लागि नगरपालिकाको थोरै लगानीबाट पनि गुणस्तरीय संरचना निर्माण गरेकोमा कामको प्रसंशा गर्दै उनले नवनिर्मित संरचनाको सही सदुपयोग गर्नुुुपर्ने बताए । थापाले भवनलाई बहुउपयोगी बनाई उपलब्धीमूलक कार्यक्रम सञ्चालन गर्न उपयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा वडाध्यक्ष तोयानाथ सारु थापाले जनताको चहाना र आवश्यकता अनुसार जनप्रतिनिधिले काम गर्दै आएको भन्दै स्थानीय सरकारबाट विनियोजित बजेटको सही कार्यान्वयन गर्न सके विकासले चाँडो फड्को मार्ने उल्लेख गरे । उनले वडाको विकासका लागि कुनै दल विशेष भन्दा पनि आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने भन्दै नवनिर्मित भवनलाई बहुउपयोगी बनाउन आग्रह गरे ।
कार्यक्रममा चेतनशिल आमा समुहका अध्यक्ष विष्णुमाया खाम्चाले देउसी भैलो लगाएत विभिन्न कार्यक्रमबाट संकलित रकम र नगरपालिकाको विशेष सहयोगमा भवन निर्माण गरेको बताइन् । आफुहरुको आवश्यकतालाई मध्यनजर गरेर रामपुर नगरपालिकाले विभिन्न चरणमा बजेट विनियोजन गरेकोमा धन्यवाद दिंदै भवनलाई भौतिक संरचनामा मात्र सिमित नराखी बहुउपयोगी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
निर्माण समितिका संयोजक भुवनसिं सिंजालीले कुनै आस्था भन्दा पनि माथि उठेर जनताको आवश्यकतालाई बुझ्न आवश्यक रहेको भन्दै नगर सरकारले गरेको कामको प्रसंशा गरे । साथै उनले १६ लाख ६० हजारको लागतमा भवन निर्माण सम्पन्न भएको आम्दानी खर्च समेत सार्वजनिक गरे । रामपुर नगरपालिकाको ६ लाख ५० हजार, चेतनशिल आमा समुहको ६ लाख २० हजार,बाबा समुहको १ लाख, सिर्जनशिल युवा क्लवको २० हजार र स्थानीयको जनश्रमदानमा हल सहितको २ कोठे एक तले पक्कि भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण सम्पन्न भए पछि विभिन्न समुह, क्लव, टोल विकास संस्था लगाएत विभिन्न संस्थाको बैठक बस्न, तालिम सञ्चालन गर्न,विभिन्न कार्यक्रम गर्न सजिलो हुने स्थानीय राजु गुरुङले बताए । चेतनशिल आमा समुहका अध्यक्ष विष्णुमाया खाम्चाको अध्यक्षता, राम बहादुर आलेको स्वागत, पर्शुराम पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।