Shittalpati
गुल्मीमा तीन हजार करदाताले बुझाएनन् कर विवरण

गुल्मी, जिल्लामा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०८०/२०८१ मा जिल्लामा १३ हजार २ सय ८७ करदाता दर्ता भएकोमा ३ हजार करदाताले कर विवरण नबुझाएको पाइएको हो ।

करदाता सेवा कार्यालयका अनुसार कूल करदाता मध्ये १० हजार २ सय ८७ करदाताले आफ्नो कर विवरण बुझाए पनि तीन हजार करदाताले समयमा आयकर विवरण नबुझाएका हुन् । समयमै कर विवरण नबुझाएका करदातालाई जरिवानाबाट बच्न नियमित रुपमा फोन र सुचनामार्फत जानकारी गराउने, नियमित बजार अनुगमनसँगै ननफाइलरको (विवरण नबुझाएका) संख्या कम गर्न पालिकागत तथा उद्योग वाणिज्य संघ गुल्मीको समन्वयमा सूचना प्रवाह गरिएको सूचना अधिकारी इन्दिरा नेपालले बताइन् । आर्थिक मन्दी र बढ्दो बसाइँसराइले गर्दा व्यवसाय सञ्चालनमा कमी आएको कारण करदाताको दर्ता र खारेजी गर्ने क्रम समेत जिल्लामा वृद्धि हँुदै गएको छ । करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत सुरज बस्यालका अनुसार गत आर्थिक वर्षमा ६ सय ८९ नयाँ ब्यबसाय दर्ता भएकोमा सोहि अवधिमा ५ सय ७२ ब्यवसाय, फर्म खारेजी गरिएको छ । कार्यालयबाट करसम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको कार्यालयका प्रमुख बस्यालले बताए । यहाँ आर्थिक वर्ष ०८०/८१ मा ३९ करोड ८५ लाख ३३ हजार राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा गएको आर्थिक वर्षमा ३ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७९/८० मा ३६ करोड ७२ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा ३ करोड १२ लाख ९१ हजार राजस्व संकलन भएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update