Shittalpati
देशकै ठूलो अस्पताल बन्दै ‘लुम्बिनी अस्पताल’

बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल देशकै ठूलो अस्पताल बन्ने बाटोमा अगाडि बढेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा लिइएको यो अस्पतालको शनिबार १ हजार २ सय शैयाको भवन शिलान्यास भएसँगै देशकै ठूलो अस्पताल बन्ने निश्चित भएको हो ।

अन्य कुनै अवरोध सिर्जना नभए अबको ५ वर्षमा अस्पतालको १२ तले भवनको छतमा हेलिप्याडबाट इमर्जेन्सीसम्म सुविधायुक्त लिफ्ट, आधुनिक प्रविधि र अत्याधुनिक उपकरण, सामान्य ओपीडीदेखि मुटु र क्यान्सरसहितका सम्पूर्ण विशेषज्ञ सुविधासहितको सेवा उपलब्ध हुने छन् । प्रदेश सरकारको ६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने अस्पताललाई लुम्बिनी प्रदेशको ‘ड्रिम प्रोजेक्ट’का रूपमा हेरिएको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पतालको स्तरवृद्धिको प्रयास सुरु भएको थियो । प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल हुँदै अघि बढेको अस्पतालको नयाँ भवन बनाउने प्रक्रियाले अहिले आएर मात्र मूर्तरुप लिन लागेको हो । यसअघि पनि अस्पतालको भवन निर्माणका लागि दुई पटक टेन्डर आह्वान भएको थियो । तर, भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछि दुवै टेन्डर र सम्झौतासमेत रद्द गरिएको थियो । अहिले सम्पूर्ण प्रक्रिया पूरा भई ठेक्का लागेर निर्वाध रुपमा काम भइरहेको छ ।

यस अघि भवन निर्माणको शिलान्यास पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने तयारी भइरहेको भए पनि सत्ता समिकरणका कारण नयाँ  सरकार गठन भएपछि त्यो अवसर उनले पाउन सकेनन् । अन्ततः अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संयुक्त रुपमा भवनको शिलान्यास गरे । प्रदेश सरकारको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजनाअनुसार अस्पतालको मुख्य भवन १२ तलाको हुनेछ । दुई तला अन्डरग्राउण्ड पार्किङ हुनेछ । त्यस्तै पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ । पूर्व–पश्चिम राजमार्गमै बुटवल उपमहानगरपालिका–९ स्थित बुटवलको मध्य भागमै रहेको अस्पतालको ६ बिघा १२ कट्ठा क्षेत्रफलमा भवन निर्माण हुनेछ । भवनको शिलान्यास गर्दै अर्थमन्त्री विष्णु पौडेलले समयमा काम गरेमा कुनै पनि आयोजनाका लागि बजेट अभाव नहुने बताए । उनले भवनमात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे । मन्त्री पौडेलले अस्पतालको भवन निर्माणसँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा योजना बनाएर अघि बढ्न आग्रह गरे । उनले भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एकसाथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए । कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पताल भवनले सिङ्गो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताए । प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पताल भवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने विश्वास व्यक्त गरे । निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले अस्पताल निर्माण प्रक्रिया केही वर्षअघि नै सुरु भए पनि विविध कारणले हुन नसकेको स्मरण गर्दै शिलान्यासको चरणमा आइसकेकाले अब छिट्टै हुने बताए । प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतिपछि यो नमूना अस्पताल बन्ने विश्वास व्यक्त गरे । 

प्रदेश सरकारले अस्पतालका लागि चालु आवमा एक अर्ब ८० करोड बजेटसमेत विनियोजन गरेको छ । प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्नेगरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शैयाबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो । हाल अस्पतालमा ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ । दैनिक दुई हजारदेखि २ हजार ५ सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update