Shittalpati
मोतीराम भट्टको योगदान अनुसरण गरौं

कवि मोतीराम भट्टको  नेपाली भाषा, साहित्य, संगीत, कला, पत्रकारिता क्षेत्रको विकास, विस्तार जगेर्नामा महत्वपूर्ण योगदान रहेको छ । नेपाली भाषा, साहित्य र पत्रकारिताको माध्यमबाट मोतीरामले नेपाली समाजलाई एकाकार बनाएको पाइन्छ । समाजमा विभिन्न किसिमबाट योगदान गर्न सकिन्छ भन्ने कुराको महत्वपूर्ण उदाहरण मोतीराम हुन् । भाषा, कला, साहित्य र पत्रकारिताका माध्यमबाट उनले पुर्‍याएको योगदान सबैका लागि प्रेरणादायी रहेको छ । मोतीराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए । थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पु¥याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन् । तिनै व्यक्तिको आज जन्मजयन्ती हो । उनको जन्मजयन्तीका दिन सोमबार देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९२३ भाद्र कुशे औँसीका दिन काठमाडौँको भोसिकोटोलमा जन्मिएका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । जन्म र मृत्यु एउटै तिथिमा हुनु विरलै पाइने संयोग हो ।

१९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए । मोतीराम भन्नेबित्तिकै शिर श्रद्धाले झुक्छ भने मन नमीठो हुन्छ । किनकि उनले छोटो जीवनभित्रै गर्न भ्याएका कालजयी काम सम्झँदा जुनसुकै नेपालीको पनि शिर श्रद्धाले झुक्नु स्वाभाविकै हो तर त्यस्ता होनहार प्रतिभाले ३० वर्षभन्दा बढी बाँच्न नपाउनुको विडम्बना चित्त दुखाउने विषय होरु। मोतीरामले छोटो जीवनमा जे जति काम गरेर गए, त्यति काम गर्न अरू मानिसले पूर्ण आयुको जीवनमा पनि भ्याउँदैनन् । साहित्य सिर्जनाका दृष्टिले मात्र नभई सामाजिक कार्यमा पनि उनको सक्रियता उस्तै बाक्लो देखिन्छ । उनले पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै युवाकाल बिताएको पाइन्छ । उनका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’,‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । मोतीरामले बनारसबाट पत्रिका निकालेर नेपाली पत्रकारिताका लागि बाटो खोलिदिएका थिएरु। त्यसैले नेपाली साहित्यमा मात्र होइन, पत्रकारितामा पनि उनको ऐतिहासिक योगदान रहेको छ । शृङ्गार रस र भक्ति रसमा रोचक गजल लेख्ने मोतीरामलाई नेपाली गजलका पिता मानिन्छ । अहिले युवा स्रष्टामा गजल विधा निकै लोकप्रिय छ । विशेषतः उनका कृतिहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उघोष गर्दछ । नेपाली साहित्यको श्रीवृद्धिमा मोतीरामको योगदान अनुकरणीय र प्रशंसनिय रहेको छ । तसर्थ उनको योगदानको सबैले अनुसरण गरी नेपाली साहित्यको विकासमा लाग्न जरुरी छ । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update