Shittalpati
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै

पाल्पा, भाद्र कुशे औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । भट्टले नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउन लागिएको होर ।

वि.सं. १९२३ भाद्र कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पुर्‍याएका छन् । नेपाली साहित्यको शृद्य्रार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए । नेपालमा छापाखाना भित्राएको श्रेय समेत उनले नै पाएका छन् । उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’,‘गजेन्द्रमोक्ष’, ‘प्रलाद भक्ति कथा’,‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखक समेत हुन् । नेपाली साहित्यको माध्यमिक कालका सूत्रधार मोतीराम भट्टको योगदानको नेपाली साहित्यमा विशिष्ट स्थान रहेको छ । माध्यमिककालीन साहित्यको पर्यायका रूपमा चिनिने भट्ट बहुमुखी प्रतिभाका धनी भएका कारण साहित्यको हरेक विधामा सफलतासाथ कलम चलाउन सफल भए ।

मोतीराम भट्टले नेपाली साहित्यमा नरहेको श्रृद्य्रारिक साहित्यलाई प्रवेश गराउनको साथै हिन्दी तथा उर्दूमा प्रचलित गजल र संस्कृतमा प्रचलित समस्यापूर्ति कवितालाई नेपाली साहित्यमा प्रवेश गराई मलजल हाली फलाउने र फैलाउने कार्य गरे । शासकस्तुतिलाई छाडेर भाषा र साहित्यको सेवा गर्ने व्यक्तिको जीवनी लेखी चिनाउने मोतीरामले भानुभक्तका अन्य कृतिहरूको खोजी गरी आफैले सम्पादन गरेर प्रकाशित गर्नुका साथै भानुभक्तका समकालीन कविहरूका बारेमा अनुसन्धान र अन्वेषण गरे । मोतीराम भट्टले छापाखाना खोली त्यसको प्रबन्धकका रूपमा काम गरे भने पुस्तकालय स्थापना गरी पुस्तकालयका संस्थापक पनि भए । समग्रमा मोतीराम कवि, गजलकार, गीतकार, समस्यापूर्तिकार, नाटककार, नाटक निर्देशक, प्रकाशक, प्रबन्धक र जीवनीकार हुन् । गद्य र पद्य दुवै साहित्यमा कलम चलाउन सक्ने भट्ट सफल तथा अग्रणी युग सचेतक हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update