Shittalpati
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन्

पाल्पा, हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । यस दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।

अन्धकार रुपी संसारमा ज्ञान एवं कर्मको दिब्य ज्योती प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गूरुका रुपमा रहेका पीतालाई छोराछोरीहरुले मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडा लगायतका विभिन्न वस्तुहरु दिदै बुबाको सम्मान गर्ने गर्दछन् । यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बाबु नहुनेले भने दिव·त पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवं पिताप्रति आदर सम्मान गर्ने गर्दछन् । बुवालाई पिता, बाबा, तात ड्याडी, पापआदि शब्दले पनि चिनिन्छ । यो दिनलाई अर्को शब्दमा पीतृऔंसी, पीतृदिवस, गोर्कण औंसी, कुशे औंशी आदि पनि भनिन्छ । आमापछिको द्वितिय गुरुका रुपमा शास्त्रले बर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पीतालाई संरक्षण गर्ने, रक्षा गर्ने र पालनपोषण गर्ने चरित्रका रुपमा शास्त्रमा उल्लेख छ । औशीका दिन आफूलाई कर्म दिने बुवाको मुख हेर्न छोराछोरीहरू बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । तर बुबा भएको ठाउँसम्म पुग्न नसकेकाहरु आफ्ना बुवालाई टेलिफोन तथा विभिन्न सामाजिक इमेल, स्काइप, फेसबुक लगायतका विभिन्न सञ्जालमार्फत सम्झने र कुराकानी गरेर आर्शिवाद लिने तयारी गरेका छन् । घरमा रहेकाले बाबुलाई भेटेरै आर्शिवाद लिदै छन् । आफूलाई जन्म दिई हुर्काएर, पढाएर सक्षम बनाउने बाबुआमालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य पनि हो । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बाबुको मुख हेर्न ओइरिन्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन ।

पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । अघिपछि बुबाआमालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने संस्कार छ, जुन गलत हो । यसो गरिनुहुँदैन । पिता वर्ष भरि नै पुजनीय हुन्छन् । 

 


 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update