Shittalpati
काँग्रेस पाल्पाको बैंठक: विप्रको निधनमा शोक प्रस्ताव पारित, भदौ १९ गते श्रद्धाञ्जली सभा

पाल्पा, नेपाली काँग्रेस पाल्पाले पार्टीका पूूर्व जिल्ला सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार तानसेनस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको २७ औं बैंठकले प्रजातन्त्र सेनानी तथा पूर्व सभापति कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैंठकले शोक प्रस्ताव पारित गरेसँगै यही भदौं १९ गते विशेष श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ । दिवंगत कोइरालाको सातौं दिनको पूण्य तिथिमा उनकै निवास तानसेन–६ बर्तुङ्गमा बुधबार अपराह्न्न १२ बजे श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले शितलपाटीलाई जानकारी दिए । उनका अनुसार संघीय सांसद एवं काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा जिल्ला, प्रदेशका नेताहरुको उपस्थितिमा सभामा हुने छ ।

सभाका लागि नगर कार्यसमिति र वडा कार्यसमितिलाई जिम्मा दिइएको छ । जसमा मञ्च व्यवस्थापनका लागि वडा कार्यासमिति र प्रचार–प्रसारका लागि नगर समितिलाई जिम्मा दिने निर्णय भएको पार्टी सभापति श्रेष्ठले शितलपाटीसँगको कुराकानीमा बताए । यस्तै बैंठकले दिवंगत कोइरालाको जीवनी समेत संकलन गर्ने भएको छ । जसका लागि पूर्व जिल्ला सचिव यमलाल तिमिल्सीनालाई जिम्मा दिने निर्णय बैंठकले गरेको छ । तिमिल्सीना कोइराला जिल्ला सभापति हुँदा सचिव थिए । कोइरालाको निधनको शोकमा दुई दिन पार्टी कार्यालय बन्द र तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइएको काँग्रेस प्रवक्ता शोभाकर न्यौपानेले बताए । उनका अनुसार बैंठकले सोमबारदेखि कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय पनि गरेको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा गत विहीबार निधन भएको थियो । वि.स. १९९६ भाद्र ३० गते पाल्पामा जन्मिका कोइराला २०४८ देखि २०५२ सम्म नेपाली काँग्रेस पाल्पाको सभापति थिए । पार्टीको विभिन्न तहमा रही कार्य गरेका स्वर्गीय कोइराला संगठन निर्माणको क्रममा वि.सं. २०१५ मा युवा काँग्रेस पाल्पाको अध्यक्ष बनेका थिए । काँग्रेसमा सादगी नेताको रुपमा परिचित उनी प्रजातन्त्रको पुर्नस्थापनाका निम्ति वि.सं. २०१७ देखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेलेका थिए । वि.सं. २०४२ को सत्याग्रहदेखि २०४६ सम्मका जनआन्दोलनमा कोइराला अग्रमोर्चामै रहेर काम गरे । आन्दोलनका क्रममा पटक–पटक जेल जीवन विताएका उनी प्रजातान्त्रिक आन्दोलनको मोर्चामा जहिल्यै निडर, प्रखर, अग्रणी र बफादार भूमिकामा रहे । बैंठकमा काँग्रेस निवर्तमान जिल्ला सभापति तथा प्रदेश सांसद एवं पूर्व मन्त्री वीरबहादुर राना, काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त लगायत काँग्रेस नेताहरुले नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा स्व.कोइरालाले निर्वाह गरेको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने बताए । पार्टी सभापति हिमालदत्त श्रेष्ठको सभापतित्व, सचिव सुनिता अधिकारीको सञ्चालनमा बैंठक भएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update