भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसीका दिन धेरैले आफ्ना जन्म/कर्मदादातालाई मुख हेरेर बाबुको मुख हेर्ने पर्व मनाएका छन् । हुन त हरेक औँसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ ।
आफूलाई जन्म दिएर हुर्काएर, पढाएर सक्षम पार्ने बाबुलाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य हो । यस दिन आफूलाई जन्म दिने बाबुलाई विभिन्न थरिका मिठाई र फलफूल खुवाई मान्ने गरिन्छ । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बाबुको मुख हेर्न पुगे । यसलाई सकारात्मक रुपमा लिए पनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन । पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन ।
बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने उखान पनि हाम्रो सन्दर्भमा जीवितै नभएको होइन । छोराछोरीको कर्तव्य भनेको आफ्ना जन्मदिने बुबाआमालाई जहिले सेवा गर्नुपर्छ नकि भेट्नको लागि कुशे औंशी कुर्ने होइन । जब बुबाआमा खुसी हुन्छन् अनि आफ्नो घर परिवार सबै खुसी हुन्छ । हिजो आफू कसरी हुर्कियो, बुबाआमाले कति दुःख र संघर्ष गरे हुर्काए, पढाए आज ती कुरालाई सम्झनु पर्छ र कहिल्यै आँखामा आँसु आउन दिनु हुन्न । कुशे औंसीका दिनलाई बुबाको मुख हेर्ने दिन मात्र होइन बुबाको मुहारमा खुसी छ कि छैन अथवा किन ल्याउन सकिएन भनेर चिन्तन गर्ने र आजीवन बुबाको अनुहारमा खुसीछर्ने प्रतिवद्धता जनाउने दिन हो । औंसी अर्थात् अँध्यारो । आफ्ना सन्तानको जीवनमा कहिल्यै औंसीको रातजस्तो अन्धकार क्षण नआओस् भनेर जीवनभर कर्म गरेर सन्तानको खुसी चाहने जन्मदाता बुबाको मुहारमा कतै हाम्रो व्यवहार र शब्दले कुनै पीडा त दिएको छैन ? भनेर विशेष मूल्यांकन गर्ने दिन हो । हामीलाई असल सन्तानको परिचय तब मिल्छ जब हामीमा बुबाको जस्तै निःस्वार्थ भाव कायम रहन्छ । तसर्थ एक दिन कुसे औंसीका दिन मात्र हैन हरेक दिन नै बुबाको मुख हेर्ने दिन मनाऔं ।