गुल्मी, जिल्लामा लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा करदाता सेवा कार्यालय गुल्मीले १४ प्रतिशत कम राजस्व संकलन गरेको हो । सो अवधिमा ४६ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा जम्मा ३९ करोड ८५ लाख ३३ हजार मात्र राजस्व संकलन गरिएको कार्यालयका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा आयकरतर्फ २३ करोड ६ लाख ८० हजार, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ १५ करोड ८३ लाख ९२ हजार र अन्तशुल्क तर्फ ९४ लाख ५८ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०७९/२०८० को तुलनामा कार्यालयले आठ दशमलव ५ प्रतिशत बढी अर्थात राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत बस्यालले बताए ।
कार्यालयले गत आर्थिक वर्ष २०७९/२०८० को तुलनामा तीन करोड १२ लाख ९१ हजारले बढी राजस्व संकलन गरेपनि आर्थिक वर्ष २०८०/२०८१ मा लक्ष्य गरिएको राजस्व रकम देशव्यापी रुपमा देखिएको आर्थिक मन्दी र बसाइसराइको असरले जिल्लामा रहेका व्यापारिक प्रतिष्ठान र उद्योगमा समेत परेको कारणले संकलन गर्न भने सकेन । अघिल्लो आर्थिक वर्षसम्म दुई करोड भन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट)बक्यौता रहेकोमा करदाता सेवा कार्यालयले गत आर्थिक वर्ष २०८०/२०८१ मा एक करोड मूल्य अभिवृद्धि कर(भ्याट) बक्यौता घटाएको छ । जिल्लामा २०७७ सालमा करदाता सेवा कार्यालयको स्थापना भइ सेवा सुरु भएसँगै कर तिर्नकै लागि व्यवसायीलाई बुटवल,पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । जिल्लमा करदाता सेवा कार्यालय स्थापना संगै जिल्लाका विभिन्न बजार क्षेत्रमा रहेका उद्योगी, ब्यापारी अन्य सेवाका धेरै ब्याक्ति, फर्महरु समेत करको दायरामा आएको उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलले बताए ।