Shittalpati
हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन

पाल्पा, भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व सोमबार देशभरका वैदिक सनातन धर्मावलम्वीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाइँएको हो ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको पाइन्छ । तर हिजो आज कुशे औंसीका दिन घर–घरमा कुश भित्र्याउने प्रचलन भने हराउँदै जान थालेको छ ।  विगतका वर्षहरुमा गुल्मी र पाल्पाका घरहरुमा कुशे औंसीका दिन पुरोहितहरु कुश लिएर पुग्ने गर्थे ।

पुरोहितले पूजाआजासहित मन्तर जपेर चोखो गरी ल्याएको कुश घरको ढोका अगाडि पालीमा सिउरिएर छोडेपछि घरमा वर्षभरी पर्ने देवकार्य तथा पितृकार्यमा त्यहीँ कुश प्रयोग गर्ने गरिन्थ्यो । तर हिजोआज भने पुराना पुस्ताका पुरोहितहरुको निधन हुनु, भएकाहरु अशक्त हुँदै जानु र नयाँ पुस्ताका पुरोहितहरुले त्यसप्रति चासो नदेखाउँदा औंसीका दिन कुश भित्र्याइने चलन हराउँदै जान थालेको हो । पहिलेदेखि नै मान्दै आएका पुरोहितको ३ वर्ष अघि मृत्युु भएपछि घरमा कुश भित्र्याउन छोडिएको तानसेन भवगतीटोलका महेश थापाले बताए ।

उनले भने ‘पहिले–पहिले त कुशे औंसीका दिन घरकै पुरोहित कुश लिएर ढोकामै राखिदिन्थे, उनको निधन भएपछि छोराहरुले वास्ता गर्न छोडे ।’ हिजोआज पुरोहित आउन छोडेपछि पूजाआजा र पितृकार्यमा कुश खोज्न हिड्नु परेको गुल्मी इस्मा–२ रातडाँडाका वीरबहादुर मल्लले बताए । उनले भने ‘पहिले पहिलेका पुरोहितहरु आफै जानेर आउन्थे तर हिजो आजकाहरुले त्यो झिंजो मान्दा रहेछन्, घर–घरमा पूजा तथा पितृकार्य गर्दा आजभोली त हामी बाहिरबाट कुश खोजेर ल्याउने र पुरोहितलाई नै पूजाका दिन कुश लिएर आउन भन्छौं ।’ थापा र मल्लको घरमा मात्र होइन आजभोलि पाल्पा र गुल्मीका धेरैजसोको घरमा कुश भित्र्याउने चलन हट्दै गएको छ ।

कुश ल्याउने पुरोहितहरु नै नहुँदा परम्परागत कुश भित्र्याउने चलन विस्तारै हराउँदै जान थालेको हो । कुश धार्मिक र वातावरणीय दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण वनस्पति हो । पितृकार्यदेखि लिएर देवीदेवताको पूजाआजा अभिषेक, प्राणप्रतिष्ठा आदि कार्यमा कुश मिश्रित जलप्रयोग चोखोनितो गर्न प्रयोग गरिने भएकाले कुशको धार्मिक महत्व रहेको छ । पुराणहरूमा कुशलाई अन्य देवतासँग जोडिएको छ । 

जुन ब्रह्माण्डको सृष्टिकर्ता भगवान् ब्रह्माले आफ्नो सृष्टि अनुष्ठान गर्न कुशको प्रयोग गरेको विश्वास गरिन्छ । वैदिक ऋषिहरूले कुशलाई आफ्नो तपस्या र यज्ञमा प्रयोग गरेको भनिन्छ । कुशे औंशीका दिन बुवाको मुख हेर्ने दिन समेत पर्दछ । सोमबार छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गरी बाबुको मुख हेर्ने पर्व मनाएका छन् । बुबा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । भाद्रकृष्ण औंसीका दिनमा तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update