Shittalpati
जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित

गुल्मी, किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो । 

सत्यवती गाउँपालिका–५ अन्तर्गत जुहाङ्, खैरेनी निवासी ७१ वर्षीय साहित्यकार भण्डारीले विभिन्न विधामा दुई दजर्नभन्दा बढी कृति प्रकाशित गरेका पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताए । पुस्तकालयद्वारा आयोजित समारोहमा किरण पुस्तकालयका अध्यक्ष शशि पन्थी एवं लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले साहित्यकार भण्डारीलाई नगदसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरेका हुन् । साहित्य क्षेत्रमा निकै रुचि राख्ने स्वर्गीय जानकी ज्ञवालीको सम्झनामा परिवारद्वारा उक्त पुरस्कार स्थापना गरिएको थियो । किरण पुस्तकालयको समन्वयमा स्थापना गरिएको पुरस्कार गुल्मीमा जन्मेर साहित्य सिर्जनामा लाग्ने सर्जकलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । विसं २०७३ मा स्थापना भएको उक्त पुरस्कारबाट यसअघि साहित्यकार सूर्यबहादुर सेन वली, भागिरथी श्रेष्ठ, रामप्रसाद पन्त, नारद गौतम, रुद्र ज्ञवाली र हरिप्रसाद भण्डारीलाई प्रदान गरिसकिएको छ । 

साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आएकी ज्ञवालीको २०७३ साल मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो । स्व ज्ञवालीले साहित्य तथा समाज सेवाको क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरणीय बनाउन उनका श्रीमान् शङ्करप्रसाद गौतमको विशेष अग्रसरतामा जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानका नाममा किरण पुस्तकालयमा रु दुई लाखको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमि तथा कर्मभूमि बनाइ इतिहास, कला र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने सर्जकलाई जानकी साहित्य पुरस्कारद्वारा सम्मान गरिँदै आएको किरण पुस्तकालयका अध्यक्ष पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update