Shittalpati
लागू पदार्थको अवैध तस्करी रोकौं

पछिल्लो समय लागू पदार्थको अवैध तस्करी बढ्दै गएको छ । प्रहरीका अनुसार नियन्त्रणको क्रम बढिरहेको भए पनि खुल्ला सीमानाको फाइदा उठाउँदै लागूऔषधका कारोवारीहरुले विभिन्न नाकाबाट लागूऔषध भित्र्याइरहेका छन् । यसले व्यक्ति, परिवार, समाज तथा राष्ट्रलाई नै ठूलो हानी पुर्‍याएको छ । पश्चिमाहरूको हिप्पी संस्कृतिले हेरोइन, अफिम, चरेस, कोकिनको प्रयोगलाई व्यापक बनाइदिएको छ । यसले नेपाली समाजलाई प्रभावित बनाएको छ । लागूपदार्थको दुरुपयोगले व्यक्तिको जीवन बर्वाद गर्छ नै यसबाहेक परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई समेत नष्ट पार्दछ । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या नेपाली समाजका लागि चुनौतीपूर्ण बनेको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले जटिल समस्या उत्पन्न गराएको हो । लागू औषधको अवैध दुव्र्यसन र तस्कर रोक्न प्रयासहरु नभएका होइनन् । तर ति प्रयास प्रभावकारी बन्न नसक्दा लागूऔषध प्रयोगकर्ता भने दिनहुँजसो बढिरहेका छन् । यो अत्यन्त दुखको कुरा हो । लागूऔषधको कुलतका कारण धेरै अभिभावकहरु पीडित हुनु परेका दृष्टान्त थुप्रै छन् । विडम्बनाको कुरा त के छ भने लागूऔषधको कारोबारमा समाजका रक्षक मानिने सेना तथा प्रहरी नै संलग्न भएका घटना पनि सार्वजनिक हुँदै आएका छन्, जसका कारण यसको कारोबार नियन्त्रणमा चुनौती देखिएको छ । लागू पदार्थ दुव्र्यसनी र अवैध तस्करी बढ्नु भनेको समाज असुरक्षित र अधोगतितिर उन्मुख हुनु हो ।

लागूऔषधको सेवन तथा कारोबार व्यापक भइरहँदा पनि स्थानीय सरकार भने त्यसको नियन्त्रणका लागि उदासीन देखिएको छ । प्रहरीले पक्राउ परेकाहरुका साथबाट अफिम, ब्राउनसुगर लगायत विभिन्न लागूऔषधहरु समेत बरामद गर्दछ । तर तिनीहरुलाई कारवारही हुँदैन । लागूऔषधले जिल्लाको शान्ति सुरक्षामा खलल पुर्‍याउनुका साथै अपराधहरु बढाउँछ । हाल भइरहेको तस्करी रोक्न प्रहरीलाई स्थानीय सरकार तथा सामाजिक अगुवाहरुले पनि सहयोग गर्नुपर्छ । अन्यथा यसले विकराल रुप लिनेछ र हाम्रो भावी पुस्ताको भविष्य पनि अन्धकार हुनेछ । सुन्दर परिवार र समाज निर्माणका लागि लागू पदार्थ दुव्र्यसनी र अवैध तस्करीका जाँलोलाई तोड्न आवश्यक छ । यसका लागि विभिन्न पेसा र आवरणमा लागू पदार्थको कारोवारी गर्ने व्यक्तिहरुको सूक्ष्म अनुसन्धान गरी नियन्त्रण गर्न आवश्यक छ । यसर्थ लागूऔषध नियन्त्रण भएमात्र स्वच्छ र अपराधमुक्त समाज निर्माण हुनसक्ने भएकाले यस्तो कार्यमा सबै सरोकारवालाको उत्तिकै सहयोग र ऐक्यबद्धता रहन जरूरी छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update