Shittalpati
छुट्टाछुट्टै स्थानमा १२ जना मृत अवस्थामा फेला

पाल्पा, देशका विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा १२ जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, कपिलवस्तु, नवलपरासी पश्रिुचम, धनकुटा, ललितपुर, सर्लाही, झापा, मकवानपुर, पाँचथर, कञ्चनपुर, सिन्धुलीका छुट्टाछुट्टै स्थानमा १२ जना मृत अवस्थामा फेला परेका हुन् ।

रूपन्देहीको सैनामैना नगरपालिका–३ हाटबजार लाईन बस्ने ३४ वर्षीय शिव शर्मा मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । यस्तै कपिलवस्तुको विजयनगर गाउँपालिका–४ मिजुनिययास्थित पोखरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीय बेकारू रैदासको १६ वर्षीया छोरी पुष्पा रैदास ताडी पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । उता नवलपरासी पश्रिुचमको सरावल गाउँपालिका–१ देबीनगरस्थित बाटोको कल्भर्ट मुनीमा एक जना मृत अवस्थामा भेटिएका छन् । सोही ठाउँका ३५ वर्षीय बसन्त चौधरी मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठीगाउँमा एक जना मृत भेटिएका छन् । सोही ठाउँका ४० वर्षीय उद्धव बर्देवा सोही नगरपालिका–६ स्थित बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका–११ चिल्ड्रेनपार्कस्थित घरको आँगनमा एकजना मृत अवस्थामा फेला परेका छन् । सोही महानगरपालिका–११ इमुखेल बस्ने ३१ वर्षीय संगम देउला मृत अवस्थामा फेला परेका हुन् । यस्तै सर्लाहीको बरहथवा नगरपालिका–११ डियरमा पनि एक जना पुरुषको शव फेला परेको छ । सोही ठाउँका ४५ वर्षीय बिकाउ भन्ने खुबलाल राय आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित कन्काई माईखोलामा पनि एक मृत भेटिएकी छन् । हाल उनको नाम, थर, वतन खुलेको छैन् । अन्दाजी ४५ वर्ष जस्तो देखिने ति महिलाको परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । यसैगरी झापाकै मेचिनगर नगरपालिका–४ आलडागी बस्ने २४ वर्षीया अस्मिता खड्का पनि घर नजिकै रहेको धारामा मृत अवस्थामा फेला परेकी छन् । यस्तै मकवानपुरको बाग्मती गाउँपालिका–४ चौरादोभानस्थित बागमती खोलाको बिच बगरमा अर्को एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिरूपास्थित काबेली खोलाको किनारमा पनि एक पुरुषको शव फेला परेको छ । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष मृत अवस्थामा भेटिएका हुन् । उता कञ्चनपुरको भिमदत्त नगरपालिका–९ ब्रह्मदेबस्थित महाकाली नदीमा अर्का पुरुषको शव फेला परेको छ । हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मृत अवस्थामा फेला परेका हुन् । यस्तै सिन्धुलीको तिनपाटन गाउँपालिका–८ पिप्ले गिरीटोल बस्ने ९० वर्षीय पन्चे तामाङ पनि मृत अवस्थामा भेटिएका छन् । सोही ठाउँस्थित खोल्सामा उनी मृत अवस्थामा फेला परेका हुन् । शनिबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update