Shittalpati
मुलुक पछाडी फर्कनु हुन्न, अब परिवर्तनको बाटोमा जानुपर्छ : डा. भण्डारी

पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले मुलुक अब परिवर्तनको बाटोमा जानुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले मुलुक अब परिवर्तनको बाटो अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिई परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे । नेता भण्डारीले नेतृत्वमा पुगेका नेताहरुबाट केही पनि हुन नसकेको प्रति सकेंत गर्दै भने ‘मुलुकलाई बनाउनु पर्‍यो नि ! सबै युवाहरु बाहिर जाने, यहाँ म प्रधानमन्त्री, म पार्टी सभापति, म मन्त्री हुँ भनेर भाषण गरेर हुन्छ र ? हुँदै अब मुलुक परिवर्तनको बाटोमा जानुपर्छ, पछाडी फर्कनु हुन्न भन्ने मेरो सैद्धान्तिक धारणा हो ।’

उनले फरक प्रसंगमा यही तरिकाले सरकार अघि बढेमा व्यवस्था संकटमा पर्न सक्ने चेतावनी दिएका छन् । नेता भण्डारीले यथास्थितिमै सरकार अगाडि बढिरहे व्यवस्था, नेतृत्व र मुलुकमाथि नै संकट आउनसक्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि आफू पाँच वर्ष जेल बसेको बताएका भण्डारीले नेतृत्वको असक्षमताको भारी अब बोक्न नसकिने पनि बताएका छन् । ‘यही तरिकाले सरकार जान्छ भने लोकतान्त्रिक व्यवस्थामाथि पनि संकट निम्तिन्छ । त्यसबेला संकट नेतृत्वमाथि पनि पर्छ । संकट मुलुकमाथि पनि पर्छ’, उनले भने, ‘त्यसकारण सरकारले गफ होइन, काम गरेर देखाउनुपर्छ ।’

सांसद समेत रहेका भण्डारीले अहिलेका नेताहरूको व्यवहारका कारण युवा पुस्तामा निराशा छाएको बताए । नेताहरूको कार्यशैलीका कारण अब देशमा केही हुन्न भन्ने लागेर युवा विदेशीएको उनको दाबी थियो । युवा पुस्तालाई देशमै राख्न नेताहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘नेताहरूले पद र प्रतिष्ठाको लागि गरेको लुछाचुँडीका कारण युवाहरू निराश भएका छन् । युवाहरूलाई देशमै राख्न उनीहरूको आवश्यकता अनुसारको विकास र सुशासन दिन सक्नुपर्छ,’ उनले भने । दलका नेताहरू समयअनुसार अपडेट हुन नसकेकोतर्फ संकेत गर्दै उनले परिवर्तित समय र देशका युवा जमातको आवश्यकता के हो भनेर बुझ्न नेताहरूलाई सुझाव दिए । ‘अहिले राजनीतिका लागि मात्र राजनीति भइरहेको छ । नेताहरू साँघुरो घेराबाट बाहिर आउनुपर्छ । नेतृत्वको कमजोरीका कारण राजनीतिमा युवालाई इमोसन दिन सकिएको छैन,’ उनले भने । युनियनका जिल्ला उपाध्यक्ष रामचन्द्र रायमाझीको अध्यक्षता, अर्को उपाध्यक्ष विष्णु खनालको स्वागत, सचिव विष्णु घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update