Shittalpati
निष्ठाको राजनीतिक कायम राख्छौ : नेता भण्डारी

पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले नेपाली काँग्रेस पाल्पाका पूर्व सभापति तथा प्रजातन्त्र सेनानी स्व.ठाकुर चन्द्र (विप्र) कोइरालाको निष्ठानको राजनीति कायम राख्ने बताएका छन् । बधुबार नेपाली काँग्रेस पाल्पाले स्व. कोइरालाको निवास तानसेन –६ बर्तुङ्गमा सातौं दिनको पूण्य तिथिमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता भण्डारीले पार्टी र लोकतान्त्रिक आन्दोलनमा स्व. कोइरालाले खेलेको भूमिकाको स्मरण गर्दै काँग्रेसले विप्रको निष्ठानको राजनीतिक कायम राख्ने उल्लेख गरे । स्व. कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि विचलित नभएको नेताको रूपमा स्मरणीय रहेको भन्दै उनले अहिलेका नेताहरूले धेरै कुरा सिक्नुपर्ने बताए । नेता भण्डारीले सत्य र निष्ठाको प्रतीक भएको चर्चा गर्दै उनको योगदानको काँग्रेसले अनुसरण गर्ने र उनको सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तले सँंगै जेल जीवन बिताउँदा विप्रलाई राम्रोसँग चिनेको भन्दै संगठन निर्माणमा उनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने ‘दाइ क्रान्तिकारी हुनुहुन्थ्यो, उहाँले समाज परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा सधै वकालत गर्नु भयो ।’

काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले अत्यन्त सरल, इमान्दार र लोभलालचबाट टाढा रहने कोइरालाबाट नेताहरुले पाठ सिक्नुपर्ने धारणा व्यक्त गरे । उनले  सत्कर्मको फल स्वरुप दाइको निधन सहज भएको बताए । नेता रानाले भने ‘मृत्यु स्वाभाविक हो तर त्यो कस्तो हो भन्ने कुरा महत्वपूर्ण रहन्छ, लोकतान्त्रिक अवस्थाको जनताले अनुभुती गर्न पाएका छैनन् । उनले देखाएको बाटो काँग्रेसले अवलम्बन गर्नुपर्छ ।’ राप्रपाका केन्द्रीय सदस्य नारायण कोइरालाले समाज परिवर्तनमा कोइराला क्रान्तिकारी स्वाभवका रहेको बताए । सोही अवसरमा काँग्रेसका पूर्व जिल्ला सचिव यमलाल तिमिल्सिनाले स्व. विप्रको जीवनीका बारे चर्चा गरेका थिए । पाटी जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सभामा काँग्रेसका नेताहरुको उल्लेखीय सहभागीता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update