Shittalpati
तिज : सद्भाव र संस्कृतिका रुपमा मनाऔं 

आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा(मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् । तिजका गीतहरु घर(घरमा घन्काएर महिलाहरुले रमाईलो मनाईरहेका छन् । तर पछिल्लो समयमा आएर महिनौं अगाडिदेखि दिदीबहिनीहरू जम्मा भएर दर खाने संस्कृति बढ्दै गएको छ । तिजको आफ्नै मौलिकता छ । त्यो मौलिकतालाई चटक्कै विर्सिएर महिना दिन अघिदेखि पाटी, प्यालेसहरुमा गएर तिज मनाउनु राम्रो हैन ।

तिज हिन्दु महिलाका लागि सुखदुःख साट्ने, मीठो खाने, राम्रो लगाउने, माइती तथा आफन्त भेट्ने पर्व हो । खाने, लगाउने र जमघटसँगै नाचगान गरेर रमाइलो गर्ने रमणीय पर्वका रुपमा तिजलाई लिने गरिन्छ । गीतमार्फत अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणको कुरा बाहिर ल्याउने यो महिलाहरुका लागि यो ठूलो अवसर पनि हो । तर हिजो आज यो पर्वको शैली र प्रकृतिमा समयसँगसँगै केही पृथकता देखिन थालेको छ । पर्वको नाममा जथाभावी फड्किलो बन्दै जानु भने दुखद् हो । तिजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएका छन् । तिजमा आएको विकृति र भड्किलो फेसनले ‘हुँदाखाने’ महिलाहरुले तिज मनाउन नसकिरहेको स्थिति छ । यो प्रचलन गलत हो । तिज सद्भाव र संस्कृति झल्कने पर्वका रुपमा लिनुपर्छ । तर त्यसो हुन सकिरहेको छैन ।

संस्कृति परम्परित हुन्छ । तर, अपरिवर्तित हुँदैन । समयसमेक्ष रुपमा संस्कृति परिवर्तन हुँदै जाने कुरालाई अन्यथा लिनु हुँदैन तर परिवर्तित संस्कृतिको नाममा विकृति फैल्याउनु राम्रो हैन । तिज पर्व ठूला(ठूला फाइभ स्टार होटल र रेस्टुराँहरुमा मनाउनाले यसको महत्व घटिरहेको छ । रक्सी, वियर र मासुभातले तिज मनाउँदा हाम्रो मौलिक संस्कृति लोप भइरहेको छ । विभिन्न संघ संस्था र राजनीतिक दलले आफ्नै रङ्ग दिई तिज पर्व मनाउँदा यस पर्वमा राजनीति हाबी हुन थालेको पाइएको छ । हिजोका गीतहरुमा नारी वेदनाका गीत हुन्थ्यो । आजका गीतहरुमा भड्किलोपन देखिन थालेको पाइन्छ । यसले हरितालिका तिजको शोभा हराउँदै गएको भान हुन्छ । तिज पौराणिक महत्वको  पर्व भए पनि यसको आफ्नै सांस्कृतिक र सामाजिक महत्व रहेको छ र रहिरहनुपर्छ । यसका लागि नारीहरुले आधुनिकताको नाममा विभिन्न विकृतिजन्य कार्यहरु गर्नुहुँदैन । यसर्थ तिजलाई सद्भाव र संस्कृतिका रुपमा मनाऔं । सम्पूर्णमा हरितालिका तिजको शुभकामना !

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update