Shittalpati
आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस

पाल्पा, मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् ।

सार्कको ११औं सम्मेलनवाट पारित वेश्याबृत्तिका लागि हुने महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी २००२ लाई दोश्रो जनआन्दोलनवाट पुनः स्थापित संसदले २०६३ भदौ २० गते अनुमोदन गरेको थियो । सोही दिनको सम्झनामा २०६४ साल जेठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रत्येक बर्ष भदौ २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको थियो । मानव बेचबिखन तथा ओसारपसार ऐन र नियमावली बनेको पनि उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ ।

महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ । मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो । संसार अहिले आधुनीकिकरणको युगमा छ, तरपनि अझ नेपालसहित विश्वका धेरै देशहरुमा मानव बेचबिखन तथा ओसारपसार विद्यमान छ । 

रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमीको गलत फाइदा उठाउदै मानव बेचबिखन हुने गरेको छ । विशेषगरि गरिवीको फाइदा उठाउदै अपराधिक मानसिकता बोकेका व्यक्ति वा समुहले विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदाहरणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update