पाल्पा, हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व हिजोआज भड्किलो बन्दै गएको छ । तिजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ । हरेक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यो नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो ।
माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तिज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ । व्रत र पूजाआजा गरी भाद्रशुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने हरितालिका तिज आजभोलि दरका नाममा महिनैभरी मनाउन थालिएको छ । व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ । शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्गलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ । त्यसैगरी आजभोलिका कतिपय तिज गीत र नाचगान त घरपरिवारमा बसेर हेर्न र सुन्न सकिने खालका पनि छैनन् । कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज, भतेर, प्रतिस्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटार जस्ता कुराले तिज मौलिक चाड हो भन्ने कुरालाई बिर्साइदिएको छ । ‘हुनेले मिठो मसिनो, नहुनेले पिठो मसिनो’ खाने पर्व थियो तिज । सात डाँडापारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबा आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठोमसिनो खाने खुवाउने, असल भाइचाराको गाँठो कसिलो बनाउने, चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरू बेला नभए पनि यो बेला माइत पठाउनै पर्ने पर्व थियो तिज । सायद, यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरूलाई । तर, आज यो अवस्था रहेन ।
हुने खानेहरूलाई त यसले राम्रै गर्ला तर, हुँदा खाने नेपाली समाजका अन्य महिलाहरूलाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने गरेको छ । गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घर(घरमा पाक्ने अनदीको लट्टे, खीर, तामा(टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाँचगान गर्दै खाइने दर ! त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा ! यही हो हाम्रो तिजको मौलिकता । तर अहिले यो मौलिक पर्व केही सम्भ्रान्त र नवधनाढ्य वर्गका महिलाले आर्थिक हैसियत प्रदर्शन गर्न र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा आलोच्य बनिरहेको छ । तानसेन कैलाशनगरकी ७५ वर्षीया मीना खत्री तिज फड्किलो बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्छिन् । उनी भन्छिन्, ‘बर्खा (असार(साउन)मा कामले लखतरान बनाउँथ्यो । भदौमा भने अलिक फुर्सद मिल्थ्यो । मनमा एक खालको उमंग छाउँथ्यो ।
धानका गाभा हरियो बन्दै जान्थे । खोलानाला उर्लिरहेकै हुन्थे । त्यो बेला बहिनीलाई दर खुवाउने निम्तो लिएर माइतबाट दाइ टुप्लुक्क आइपुग्थे । तब कोसेलीपात बोकेर माइत गइन्थ्यो तर आजभोलि भने त्यस्तो छैन ।’ माइतीमा दर खाँदै छमछमी नाचेको सम्झना उनलाई अझै ताज छ । घिउमा बेसारसहित चामल राखेर पकाएको चाम्रे, तिलको छोप राखेको अचार, मासुका परिकार उनको सम्झनामा छ । उनी सानो छँदा आमा र भाउजुहरूसँग तिजको अघिल्लो मध्यरात दर खाएको सम्झना गर्छिन् । आफूले छोरीहरूलाई उसरी नै दर खुवाउने गरेको खत्री बतान्छिन् । उनी भन्छिन् ‘हिजो आज भने एक महिना अघिदेखि नै दर खाने र सुनका गहनामा सजिएर हिड्छन् ।’ उहिलेको तिज र अहिलेको तिजमा धेरै नै फरक आएको खत्रीको बुझाई छ । नयाँ पुस्ताले तिजलाई फड्किलो बनाएको तानसेन भगवती टोलकी ६५ वर्षीया रेनुका न्यौपानेको भनाई छ । उनी भन्छिन् ‘उहिले उहिले त हुने खानेले मिठो मसिनो र नहुनेले आफुसँग जे छ त्यही मिठो बनाएर खाने गरिन्थ्यो, अहिले जस्तो महिनादिन अघिदेखि नै दर खाने चलन थिएन ।’
आज दर खाएर तिजको पहिलो दिन मनाइँदै छ । समयमा बिवाहित नारीहरु माईती घर जाने आमाले पकाएको दर खाने र माईतीको आगनमा तिजका गीतहरु गाएर नाचगान गरेर यो पर्वलाई हर्ष उत्साहका साथ मनाउने गर्दछन् । सबै नेपालीहरुले धुमधामका साथ मनाउने पर्वमा खाने दरका परिकारमा भने बिस्तारै परिर्वतन आएको छ । केही समय पहिलेसम्म तिजको बेलामा खाने दरका परिकार र पछिल्ला वर्षहरुमा खाने तिजको दरमा फरकपन देखिएको छ । तिजको दर भन्न बितिकै घिउँमा पकाएको खाजा, खिर, बटुका भरी दुध, घिउ, दही, तामाको अचार, आलु, बोडी सिमीको तरकारी सम्झना आउथ्यो । माइतिको आगनमा जम्मा भएर दर खाने चलन थियो तर अहिले त दर भन्न बित्तिकै मासु भातमा सिमित हुन थालेको छ । धेरै ठाउँमा दर खाने कार्यक्रमहरु आयोजना हुन्छन् । प्रायः ठाउँमा दिदी बैनिहरु जम्मा हुने ठूला ठूला होटलहरुमा दर खाने कार्यक्रमको आयोजना गर्ने, मासु भात खाने अनि स्पिकर बजाएर नाच्ने चलनले कतै तिज पर्वको महत्व नै विस्तारै हराउँदै जाने त हैन भन्ने चिन्ता बढ्न थालेको छ । अझ दरको नाउमा महिना दिन अघि देखी ठूलो धनरासी खर्च गरेर होटलहरुमा कार्यक्रम गर्ने महँगा महँगा गहना कपडाहरु लगाएर प्रदर्शन गर्ने गरेर यो पर्वलाई बिस्तारै भड्किलो गरी मनाउने चलन बढेर गएको छ ।