Shittalpati
स्वास्थ्यको ख्याल गरेर मात्र तिजको व्रत बसौं

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।विहीबार दर खाएर पहिलो दिनको तिज मनाएका महिला दिदीबहिनीहरु आज तिजको निराहार व्रत बस्दै छन् ।

महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ । तिजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्ना पतिबाट पार्वतीले झैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने गर्दछन् । व्रत बस्नु धार्मिक दृष्टिकोणले राम्रै मानिए पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी भोकभोकै व्रत बस्नु चाहि शारीरिक हिसावले राम्रो मानिदैन् । तिजको एकदिनअघि दरमा मीठा–मीठा परिकार, मासु तथा मिठाईं खाने चलन छ । एकदिन क्यालोरीयुक्त खाना खाएर भोलिपल्ट खाना नखाँदा भोक लाग्दैन । अघिल्लो दिन खाएको खानाले ८–९ घण्टा कभर गर्छ । तैपनि ग्यास्ट्रिकका रोगीले भोकै बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ । महिलाहरू तिजका दिन पानी पनि नपिई व्रत बसेर नाचगान गर्छन् । यसरी नाचगान गर्दा शरीरबाट पसिना निस्कन्छ । जसले गर्दा शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुन्छ र कतिपय महिला मन्दिरमा लाइन बस्दाबस्दै बेहोस हुन्छन् । धर्मका नाममा आफ्नो शरीरलाई दुःख दिनुहुँदैन । मधुमेहका बिरामीले पनि व्रत बस्नुहुँदैन । यस्ता बिरामीले व्रत बस्दा रगतमा सुगरको मात्रा कम हुन  गई हाइपोग्ल्यासिमिया हुन सक्छ । बिरामी अचेत भएर कोमामा समेत जान सक्छन् । त्यसैले मधुमेहका बिरामीले पटक–पटक खाइरहनुपर्छ । यस्ता बिरामी लामो समय भोकै बस्दा स्वास्थ्यमा असर पर्छ । यसैगरी उच्च रक्तचाप भएकाहरूले पनि पानी नपिई व्रत बस्दा डिहाइड्रेसन हुन्छ । शरीरमा एक किसिमको हार्मोन रिलिज भएर रिस उठ्छ । यस्ता बिरामीले भरसक व्रत बस्नु राम्रो हुँदैन । यसर्थ स्वास्थ्यको ख्याल गरेर मात्र तिजको व्रत बसौं । तिज पर्व देश विदेशमा रहेका सबै महिला समुदायमा सुखद् रहोस्, सबैमा हार्दिक शुभकामना !

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update