Shittalpati
पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु

पाल्पा, जिल्लामा एचआइभी संक्रमण रोकथामका लागि प्रि—एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) सेवा सुरु भएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी सेवा सुरु गरेको हो ।

एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्ति, यौनकर्मीहरू, समलिंगी पुरुष, ट्रान्सजेन्डर व्यक्ति वा संक्रमितहरुकको सुरक्षा सुनिश्चित गर्न सेवा सुरु गरिएको संघका कोषध्यक्ष माधवप्रसाद अर्यालले बताए । एचआइभी संक्रमण नभएका तर जोखिममा भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका निम्ति एचआइभीको औषधी प्रयोग गरिने बिधि प्रेप हो । एचआइभीका लागि उच्च जोखिममा रहेका र एचआइभी संक्रमण नभएका व्यक्तिहरुले मात्र प्रेप लिनुपर्छ । उच्च जोखिममा रहेका वर्गहरुमा एचआइभी संक्रमितसँग यौन सम्पर्क राख्नेहरु, कण्डम प्रयोग नगर्नेहरु, भाइरल लोड सप्रेस नभएको यौन साथीसँग यौन सम्पर्क राख्नेहरु, पैसा वा जिन्सी सामानको सट्टामा यौन सम्पर्क राख्नेहरु र सुईबाट लागु पदार्थ प्रयोग गर्नेहरु पर्दछन् । प्रायः यौन रोगका लक्षणहरु देखिइरहने व्यक्तिहरुले पनि एचआइभीबाट बच्न प्रेप लिन सक्छन् । संघले जिल्लामा पहिलो पटक यो सेवा सुरु गरेकाले सेवाका बारेमा जानकारी गराउन र समन्वयका लागि जिल्लाका सरोकारवाहरुसँग बसेर छलफल तथा सचेतीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सेवाको बारेमा जानकारी गराउँदै संघका शाखा प्रमुख सोवाकान्त न्यौपानेले प्रेपको नियमित रूपमा सेवन गर्दा ९९ प्रतिशत संक्रमित हुने सम्भावना कम हुने बताए । यो सेवाबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत लगायतका जिल्लाका नागरिकहरु लाभान्वित हुने उनले जानकरी दिए ।

कार्यक्रममा वरिष्ठ मेडिकल अधिकृत राकेशलाल बज्राचार्यले प्रेप केवल एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्न नसकिने बताए । उनले यो एक प्रकारको औषधि भएकाले दैनिक रुपमा एक गोली सेवन गर्नुपर्ने उल्लेख गरे । डा. बज्राचार्यले भने ‘प्रेप औषधि खानुभन्दा अगाडि र प्रयोग गरिरहेको समयमा नियमित रुपमा एचआइभी परीक्षण गर्नुका साथै चिकित्सकहरुसँग परामर्श लिनुपर्दछ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले संघले सुरु गर्न लागेको सेवा महत्वपूर्ण रहेको भन्दै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले एचआइभी संक्रमित समुदायमा खुल्न नचाहने अवस्थामा उनीहरुबाट जोखिममा रहेका व्यक्तिहरुको सुरक्षाका लागि सञ्चालित सेवा आफैमा चुनौतीपूर्ण रहेको बताए । इमान्दार भएर जोखिममा रहेका व्यक्तिहरुले सेवा लिएमा संक्रमणको दर कम हुनेमा प्रमुख खनालले विश्वास व्यक्त गरे । उनले कार्यान्वयनमा सबैले सहयोग पु¥याउन आग्रह गरे । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले प्रेपका धेरै फाइदाहरू रहेको उल्लेख गरे । उनले विशेषगरी एचआइभी संक्रमणको जोखिमलाई कम गर्न सेवाले सघाउने भएकाले सेवा बारे जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

पाल्पामा अहिले पनि करिब तीन सय ५० बढी एचआइभी संक्रमित रहेकोमा अधिकांशले औषधि सेवन गर्ने गरेको र ती संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुलाई मात्र सेवा लिने वातावरण बनाउन सके संक्रमण न्यूनीकरण हुने प्रमुख न्यौपानेले विश्वास व्यक्त गरे ।कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, युनाइटेड मिसन अस्पतालका निर्देशक डाक्टर रचेल कारख, लुम्बिनी मेडिकल कलेज सामुदायिक चिकित्सा विभाग प्रमुख डाक्टर समता नेपाल लगायतले सेवालाई प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षता, शाखा प्रमुख सोवाकान्त न्यौपानेको सहजीकरण तथा सञ्चालनमा कार्यक्रम भएको थियो । नेपाल परिवार नियोजन संघले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको समन्वयमा पाल्पा र सुनसरीमा पहिलो पटक यो सेवा सुरु गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update