Shittalpati
आज तिज : महादेवको उपासना गरेर मनाइँदै

पाल्पा, हिन्दु नारीहरुले आज हरितालिका तिज मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी धुमधामका साथ यो पर्व मनाइन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले आजैको दिन निराहार व्रत बसी महादेव पति पाउने वरदान पाएकीले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । महादेव स्वामी पाउने पार्वतीको इच्छा विपरीत पिता हिमालयले उनको विवाह विष्णुसँग गरिदिन खोजेपछि सखीहरुलाई समस्या सुनाउँदा उनलाई हरण गरी लुकाएर राखेको धर्मशास्त्रमा उल्लेख पाइन्छ । सखीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी भाद्र शुक्ल तृतीयाको दिन महादेवलाई प्राप्त गरेको र त्यही समयदेखि हरितालिका तिजको व्रतको प्रचलन शुरु भएको मान्यता छ । नारीहरुले तिजमा नाचगान गरेर रमाइलो पनि गर्छन् । 

विहीबार दर खाएर पहिलो दिनको तिज मनाएका महिला दिदीबहिनीहरु आज तिजको निराहार व्रत बस्दै छन् । महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ । यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ । विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत बस्छन् । त्यस्तै विवाह नभइसकेका महिलाले भने आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन् । यो दिन रातो सारीमा सजिएर हुलमा हुल महिला विभिन्न स्थानका शिव मन्दिरमा पूजा गर्न जान्छन् । त्यहीँ बाटोघाटोमा नै नाचेर गाएर रमाइलो पनि गर्छन् । यो दिन महिलाले एक किसिमले स्वच्छन्दरूपमा निर्धक्क भएर नाच्ने र आ–आफ्ना मनका कुरा पोखेर गीत गाउने गर्छन् । यो दिन दिनभर व्रत बसेर महादेवको पूजा गरेर रातमा पनि महादेव र पार्वतीको बालुवाको मूर्ति बनाएर विशेषरूपमा पूजा गर्छन् । 

यो व्रत गर्नाले पति दीर्घजीवनको फल पाइन्छ भनि शास्त्रमा उल्लेख छ । स्वास्थ्यको ख्यालै नगरी व्रत बस्न नहुने चिकित्सकहरुको सुझाव छ । ब्लडप्रेसर राम्रो भएका र कुनै दीर्घरोग नभएकाहरु मात्र व्रत बस्नु उपयुक्त हुने चिकित्सकहरुको भनाई छ । उनीहरुका अनुसार पानी नखाई कसैले पनि व्रत बस्नुहुँदैन । मधुमेहको औषधि लिइरहेकाहरूले व्रत बस्न हुँदैन । केही नखाँदा  उनीहरू ढल्ने जोखिम हुन्छ । सुगर लो भयो भने चर्को पसिना, मुटु भड्किने, आँखा धमिलो हुने हुन्छ । जसको रक्तचाप पहिल्यै लो छ, उनीहरूले केही पनि नखाई व्रत बस्दा शरीरमा नुनको मात्रा र जलवियोजन भएर अझै प्रेसर लो भएर ढल्ने सम्भावना हुने चिकित्सकहरुको भनाई छ ।

बदलियो दर खाने चलन, हराउदै मौलिकता विहीबार दर खाएर तिजको पहिलो दिन मनाइएको छ । समयमा बिवाहित नारीहरु माईती घर जाने आमाले पकाएको दर खाने र माईतीको आगनमा तिजका गीतहरु गाएर नाचगान गरेर यो पर्वलाई हर्ष उत्साहका साथ मनाउने गर्दछन् । सबै नेपालीहरुले धुमधामका साथ मनाउने पर्वमा खाने दरका परिकारमा भने बिस्तारै परिर्वतन आएको छ । केही समय पहिलेसम्म तिजको बेलामा खाने दरका परिकार र पछिल्ला वर्षहरुमा खाने तिजको दरमा फरकपन देखिएको छ । तिजको दर भन्न बितिकै घिउँमा पकाएको खाजा, खिर, बटुका भरी दुध, घिउ, दही, तामाको अचार, आलु, बोडी सिमीको तरकारी सम्झना आउथ्यो । माइतिको आगनमा जम्मा भएर दर खाने चलन थियो तर अहिले त दर भन्न बित्तिकै मासु भातमा सिमित हुन थालेको छ ।

धेरै ठाउँमा दर खाने कार्यक्रमहरु आयोजना हुन्छन । प्राय ठाउँमा दिदीबहिनीहरु जम्मा हुने ठूला ठूला होटलहरुमा दर खाने कार्यक्रमको आयोजना गर्ने, मासु भात खाने अनि स्पिकर बजाएर नाच्ने चलनले कतै तिज पर्वको महत्व नै विस्तारै हराउँदै जाने त हैन भन्ने चिन्ता बढ्न थालेको छ । अझ दरको नाउमा मैना दिन अघिदेखि ठूलो धनरासी खर्च गरेर होटलहरुमा कार्यक्रम गर्ने महङगा  महङगा गहना कपडाहरु लगाएर प्रदर्शन गर्ने गरेर यो पर्वलाई बिस्तारै भड्किलो गरी मनाउने चलन बढेर गएको छ ।

अझ पछिल्ला वर्षका तिजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव देखिएको छ । घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तिजका गीतले अहिले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् । पाल्पा तानसेन भगवती टोलकी ६५ वर्षीया मनकला न्यौपानेलाई पुराना भाकाका गीत अहिले पनि सम्झनामै छन् । उनी भन्छिन् ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई  गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन् ।’ अर्की पवित्रा कार्कीलाई पनि तिजका गीत बज्यो कि रमाइलो लाग्ने गर्छ तर हिजोआजका गीत सुन्दा भने उनलाई रिस उठेर आउन्छ । विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको कार्कीको अनुभव छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update