रामचन्द्र रायमाझी
पाल्पा । तीन दिनदेखि परेको अविरल वर्षाका कारण पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडीमा सञ्चालित महोत्सव प्रभावित भएको छ । बिहीबार राति एक्कासी खोलामा बाढी आएसँगै महोत्सवका लागि बगर छेउमा बनाइएका ३८ वटा स्टलहरुहरुमा बाढी पसेपछि महोत्सव प्रभावित भएको हो ।
बुधबारदेखि निरन्तर रुपमा परेको वर्षाका कारण रिडी खोला बढेपछि बगरमा रहेका १८ वटा होटलका अस्थायी टहरा र कालीगण्डकी करिडोर तर्फको ढल बगरमा पसेपछि २० वटा फेन्सीका स्टलहरुमा क्षति पुगेको छ । त्यस्तै बाढीले मेलाका लागि वारपार गर्न बनाईएको अस्थायी पुल फड्के समेत बगाएको स्थानीयले बताएका छन् । स्टलहरुमा खोला पसेपछि व्यवसायीहरु राति नै विस्थापित भएका थिए । बाढीले स्टलमा रहेका अधिकांश सामान बगाएको छ । स्टल व्यवसायीहरु भने त्रासपूर्ण वातावरणमा रात बिताउन बाध्य भए ।
कतैबाट गुहार पाएनौं : व्यवसायी
‘बिहीबार साँझ ७ बजे पछि रिडीखोलाको अस्थायी पुल एक्कासी बगायो, हामी अलपत्र भयौ, आयोजकहरु सम्पर्कमा आएनन्, सामन बगायो, स्टलभित्र पानी पस्यो, वडाअध्यक्ष र प्रहरीलाई खवर गर्दा पनि गुहार, पाएनौं’ सत्यवती ५ का व्यवसायी सुदीप ज्ञवालीले गुनासो गरे ।
अर्का व्यवसायी, तानसेन बडीज्ञान टोलबाट फेन्सी स्टल राख्न रिडी पुगेका समिमा फेन्सी पसलका रविल मियाँले भने ‘हामी दर्जनांै स्टलवालाहरुले राती नै आयोजकलाई खबर गरेका थियौ, तर वास्ता गरेनन्, खोला बढेकाले सामन उद्दार गर्न सकिएन केही सामान बगायो, कतैबाट गुहार नपाएपछि वारी आएर आगो तापेर रात बितायौं ।’ ‘हो–हल्ला भएपछि शुक्रबार विहान ५ बजे तिर मात्र हामीलाई खवर भएको हो’, महोत्सव मूल समितिका संयोजक सुवर्णलाल कक्षपतीले भने । उनका अनुसार खोलमा पानीको मात्रा बढेकाले सामन उद्दारमा समस्या भएको थियो । विहान ६ बजे मात्र स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा व्यवसायीका सामानलाई टहराबाट हटाएर सुरक्षित स्थानमा सारिएको संयोजक कक्षपतीले बताए । सुरक्षित रहेका सामनहरुलाई नजिकैको विद्यालय, कवडहल, हाट बजारका लागि निर्माण गरिएको भवनमा राखिएको छ ।
मौसममा सुधार भए पुनः स्टलहरु निर्माण गरी मेला सञ्चालन गर्ने तयारी थालिएको कक्षपतीले बताए । बाढीका कारण ५० लाख भन्दा बढीको क्षति भएको आयोजकले जनाएको छ । रिडीको माघे सक्रान्ति मेलालाई लक्षित गरी गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखा र रुरु फ्रेण्डस क्लवको संयुक्त आयोजनामा दोस्रो रुरु महोत्सवको आयोजना गरिएको हो । माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव वर्षाका कारण बिहीबार दिनभर सुनसान बनेको थियो भने शुक्रबार पनि महोत्सव सुनसान बन्न पुग्यो । मेलामा व्यापारका लागि आएका कतिपय व्यवसायी वर्षाका कारण आफ्ना सामान लिएर त्यत्तिकै घर फर्कन बाध्य बनेका छन् । रिडीमा माघे संक्रान्तिको अवसरमा तीन दिनसम्म ठूलो मेला लाग्ने गर्दछ । तर, यस पटक लगातारको झरी र अत्याधिक चिसोका कारण मेला प्रभावित बनेको छ ।
जिल्ला प्रशासनबाट असहयोग :
विपद्का बेला जिल्ला प्रशासन गुल्मीबाट असहयोग भएको आयोजकहरुले गुनासो गरेका छन् । महोत्सव स्थलमा बाढीले क्षति पु¥याउँदा समेत नजिकै रहेको नेपाल प्रहरी बेखवर जस्तै भएको महोत्सव मूल समितिका संयोजक सुवर्णलाल कक्षपतीले बताए । उनले भने ‘विपद् पछि तत्कालै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि कुनै पनि रेस्पोन्स भएन ।’ स्थानीय र सशस्त्र प्रहरीको सहयोगमा उघार गरिएको कक्षपतिले बताए । उनले नेपाल प्रहरीबाट भएको असहयोग प्रति गुनासो गरे । जिल्लाका जनताहरुमा सुरक्षाको प्रत्याभूत दिलाउने जिम्मेवार निकायबाटै असहयोग हुनु दुखद् भएको बताए ।