Shittalpati
निजामती सेवा दिवसको सार्थकता

निजामती दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिन्छ । २०६१ बाट प्रारम्भ भएको यो दिवस २१ औं पटक मनाइँदा २१ वटा अत्यन्त आकर्षक नारा तय भइसकेका छन् । समग्र निजामती कर्मचारीहरू नारालाई आकर्षक बनाउन लागि पर्दछन् । यथार्थतामा निजामती सेवा दिवसका दिन राष्ट्रसेवक कर्मचारीले गर्ने प्रतिबद्धताका लागि अत्यन्त उपयुक्त देखिएको छ । तर, यसको उपयोगिता र सान्दर्भिकताको रुपमा चिन्तन गर्दा यो २१ वर्षमा हामीले निजामती सेवा दिवसमार्फत गरेका प्रतिवद्धता के कति पूरा गर्न सफल भयौं यसतर्फ कसैको ध्यान छैन । नेपालमा निजामती सेवा दिवस जुन उद्देश्य लिएर मनाउन प्रारम्भ गरिएको हो, सो प्राप्त हुन नसकी औपचारिकता मात्र सीमित हुँदै गएको छ । यो अत्यन्त दुखको कुरा हो ।

मुलुकी प्रशासनको मियोका रूपमा रहेको निजामती सेवा सरकारको अपरिहार्य कार्यकारी अङ्ग हो । निजामती सेवाले राज्यका अन्य सेवाहरूको तुलनामा महत्वपूर्ण भूमिका र कार्य–जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । सार्वजनिक नीति तर्जुमामा सरकारका सबै तहमा राजनीतिक नेतृत्वलाई विशेषज्ञयुक्त सहयोग पुर्‍याउँदै राज्यका नीति कार्यान्वयन गर्ने तथा सार्वजनिक सेवाप्रवाह गर्ने मूल अभिष्टले गठित योे सेवामा कर्मचारीहरू आवद्ध हुन्छन् । सरकार र आम जनताबीच सम्पर्क सेतुका रूपमा रहने भएकोले राज्य सञ्चालनका सन्दर्भमा निजामती सेवाको भूमिका अपरिहार्य रहेको छ । हरेक नागरिकले दिनदिनै देख्ने, भोग्ने र अनुभूत गर्ने सरकार भनेकै वास्तवमा निजामती सेवा नै हो । सरकारको सफलता र प्रभावकारिताको मापन निजामती सेवाको कार्यकुशलता, व्यवसायिकता र सार्वजनिक सेवाप्रवाहको चुस्तताबाट नै गरिन्छ । जुनकुनै सरकारलाई पनि सफल, सहज र नागरिक सापेक्षरूपमा सञ्चालन गर्नमा स्थायी सरकारका रूपमा रहेको निजामती सेवाको स्थान र प्रभाव अत्यन्तै महत्वपूर्ण रहन्छ । तर निजामती सेवाको जनशक्तिबाट सम्पादित भएका कार्यमा सेवाग्राहीबाट सन्तुष्ट बन्न नसकिरहेका गुनासा भने बारम्बार नआएका होइनन् । निजामती सेवालाई राष्ट्रको ऐनाको रूपमा लिने गरिन्छ । निजामती सेवा प्रभावकारी बन्नुको प्रतिबिम्ब हरेक नागरिकको मुहार र जीवनशैलीमा देखिनुपर्छ । नागरिकहरूले आवश्यक परेको बखत सहज र सुलभ रूपमा सार्वजनिक सेवा प्राप्त गर्नसक्ने गरि पहुँच वृद्धि भई नागरिक अपेक्षाको पूर्ति हुन सक्नुपर्छ । निजामती जनशक्ति जति कार्यक्षमतामा सक्षम र अब्बल बन्न सक्छ, त्यति नै राष्ट्रले गति लिन सक्छ । यसर्थ जनसेवाका कामलाई निष्पक्ष, पारदर्शी र जिम्मेवारी भएर कार्य गर्न र जनताले समेत गर्व गर्न लायक बनाउन सक्नु नै निजामती सेवा दिवसको सार्थकता रहन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update