Shittalpati
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता ,  अझै भएन पूर्ण

पाल्पा, नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर, त्यो दुई वर्ष कहिले आउने हो, कुनै अत्तोपत्तो छैन । दुई वर्ष अघि पनि सरकारले २०८०/८१ भित्र नेपाललाई साक्षर घोषणा गर्ने भनेको थियो । तर अहिले पनि अझै १३ जिल्ला साक्षर हुन बाँकी नै छन् ।

प्रत्येक सरकारले आफ्नो नीति तथा कार्यक्रममा साक्षर नेपाल घोषणा गर्ने नीति प्राथमिकताका साथ राखे पनि त्यो प्रभावकारी भने देखिएको छैन । नेपालले २००७ सालदेखि नै साक्षरताका लागि प्रयास गरेको तथ्यांक छ । साक्षर अभियान कार्यक्रमकै लागि सरकारले सो अवधिमा अर्बौं रकम खर्च गरिसकेको छ तर, अझै सम्म त्यसले पूर्णता पाउन सकेको छैन् । हाल नेपालमा ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएका छन् ।

काठमाडौंमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र प्रवक्ता वसन्त कोइरालालले अझै १३ जिल्ला साक्षर घोषण गर्न बाँकी रहेको बताएका थिए । उनका अनुसार ती जिल्लाहरू साक्षर घोषणाको तयारीमा रहेका छन् । बागमती, गण्डकी र कोशी बाहेकका प्रदेशहरू समेत साक्षर घोषणा हुन बाँकी छन् । घोषणा हुन बाँकीमा मधेस प्रदेशका सबै जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् । त्यस्तै कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । १५(६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको केन्द्रले जनाएको छ ।

सरकारले पछिल्ला केही वर्ष यता धमाधम साक्षर जिल्लाहरू घोषणा गर्ने होडबाजी गरे पनि साक्षर घोषणा गरिएका जिल्लामा नागरिकले अझै नाम लेख्न नजानेको समाचारसमेत सार्वजनिक हुने गरेका छन् ।

पूर्णसाक्षर जिल्ला पाल्पामा छैन यकिन तथ्यांक 

पाल्पालाई २०७१ असारमा नेपालकै दोस्रो पूर्ण साक्षर जिल्ला घोषण गरिएको थियो । तत्कालीन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एक समारोहकाबिच पाल्पालाई पूर्ण साक्षर जिल्ला घोषणा गरेका थिए । त्यति बेला १५ देखि ६० वर्ष उमेर समूहका १ लाख ७० हजार ६ सय ३५ जनसंख्या रहेको पाल्पामा १ लाख ६९ हजार ८ सय ३९ जना साक्षर  थिए । तर अहिले यसको यकिन तथ्यांक कतै पाइँदैन ।

आज अन्तर्राष्टिूय साक्षरता दिवस 
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालसहित विश्वभर मनाइँदैछ । नेपालमा ‘बहुभाषिक शिक्षाको प्रवद्र्धन : पारस्परिक समझ र शान्तिको लागि साक्षरता’ भन्ने मूल नारासँगै आज देशभर ५८ औं अन्तर्राष्टिूय साक्षरता दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइँदै आइएको हो  ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update